२०८२ फाल्गुन ८, शुक्रबार १२:५७

चुनावी माहोल तातेको बेला गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ। घटनाले उग्र रूप लिएसँगै शान्ति–सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

स्थानीय स्रोतका अनुसार बिहीबार राति हिन्दू समुदायको विवाह जाँदा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवाद सुरु भएको थियो। मस्जिदमा रात्री प्रार्थना भइरहेको समयमा बाजा बजाएको भन्दै भनाभन बढेपछि केही व्यक्तिमाथि कुटपिट भएको बताइएको छ।

उक्त घटनापछि शुक्रबार बिहानैदेखि पुनः दुवै पक्षबीच झडप भई ढुंगामुढा सुरु भएको छ। यसले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ। स्थिति नियन्त्रणमा लिन प्रशासनले तत्काल सुरक्षा व्यवस्था कडा पारेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश शागर भुषालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी घटनास्थल पुगेको जानकारी दिएका छन्। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रशासनले घटनाप्रति दुःख व्यक्त गर्दै दुवै पक्षबीच संवादमार्फत समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। हालसम्म घाइते वा पक्राउबारे आधिकारिक विवरण आउन बाँकी छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ।

Comment


Related News

Latest News

Trending News