अपडेट 
२०७७ बैशाख २०, शनिबार ०९:२६

अनिल तिवारी,बीरगंज । वीरगन्ज महानगरपालिकामा विपन्नलाई वितरण गरिएको राहतमा अनिमितता देखिएको भन्दै विवाद बढेको छ ।

राहतको अनियमितता ढाकछोप गर्न लागिएको भन्दै सर्वसाधारणले महानरपालिकाका कर्मचारीसँग अबद्र व्यवहार गर्दै वडा कार्यालयबाट शुक्रबार दिउँसो लखेटेका छन् । बुधबार वडा नम्बर १४ का लागि महानगरपालिका कार्यालयबाट १ सय २५ जनाका लागि ९ सय ५० किलो चामल पठाइएको थियो ।

लकडाउनमा गरीब, विपन्न, दैनिक ज्याला गरी खानेलाई वितरणका लागि आएको चामलको बोरा खोलेर छुट्टाछुट्टै प्याकिङ गर्ने क्रममा चामल डल्लो परेको, सडेको फेला परेपछि वडाध्यक्ष भरत कुर्मीले राहत वितरणमा रोक लगाउँदै यसको छानबिनको माग गरेका थिए ।

नगर प्रमुख विजय कुमार सरावगीले स्वयं चामल खरीद गरी सरावगी ग्रूपको गोदामबाट वडा कार्यालयमा पठाएका थिए । तर कुहिएको पाइएपछि त्यसको छानबिन गर्न महानगरपालिकाले बिहीबार वरिष्ठ स्वास्थ्य अधिकृत अरुण कुमार महतोको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिेको थियो ।

तर, नगर प्रमुखले पठाएका आसेपासेबाट उचित छानविन हुन नसक्ने भन्दै स्थानीयहरु वडा कार्यालयमा पुगी छानबिन टोलीलाई लखेटिदिएका छन् ।

यता, समाजवादी पार्टी नगर समितिले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीबाट निर्वाचित नगरप्रमुख विजय कुमार सरावगीले पार्टी तथा मधेसवासी जनताको भावना बिपरित कार्य गरेको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महानगर अध्यक्ष इश्वरचन्द्र यादवले जारी गरेको प्रेस विज्ञप्तीमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर गठित जनता समाजवादी पार्टीको एकता प्रक्रियालाई थप अगाडि बढाउन हाम्रो श्रध्येय नेताहरु लागि परेको बेला यता स्थानीय तहमा यस्ता हर्कतहरु भएकोले यसमा आवश्यक कारवाही अगाडि बढाउन माग गरिएको छ ।


‘वडा अध्यक्ष भरत राउत कुर्मीले गुणस्तरहीन भन्दै उक्त चामल बितरण गर्नबाट रोकेपछि महानगरपालिकाको नेतृत्व सवालको घेराभित्र परेको छ’ बिज्ञप्तीमा भनिएको छ, “वडा अध्यक्षमाथि छानबिन गर्न केही कर्मचारी पठाएर लोकतान्त्रिक मुल्य र मान्यताको गम्भीर रुपमा उपहास गरिएको पार्टीले ठहर गरेको छ ।”

छानबिनका लागि अधिकार प्राप्त सरकारको अंगले नियम अनुसार आएको उजुरी गुनासोमा त्यसै प्रायोजनले बहाल गरिएको राष्ट्रसेवक कर्मचारी परिचालित गर्नु बेग्लै कुरा हुन्छ’ बिज्ञप्तीमा भनिएको छ, “यस घट्नामा भने वीरगन्ज महानगरपालिका कार्यालयले नगर कार्यापालिकाका सदस्य रहने जननिर्वाचित वडा अध्यक्ष उपर छानबिन गर्न भनेर त्यसै कार्यापालिका मातहतको कर्मचारी पठाउनु भनेको लोकतान्त्रिक बिधि, प्रक्रिया र मुल्य तथा मान्यताको बर्खिलाफ हो ।”

घटनालाई लिएर बिहिबार सांझ वीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगीको घरमा प्रहरीले छापा मारेको थियो । अनुगमन समितिमा रहेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिले शिलबन्द बोराबाट चामलको नमुना संकलन गरेका थिए । तौल जाँच्नका लागि सुरज खाद्य उद्योगका बोरासमेत लगेको वडाध्यक्ष कुर्मीले जनाए । संकलित नमुनाको गुणस्तरण जाँच्न जनकपुरधाम पठाइएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News