अपडेट 
२०७७ बैशाख २०, शनिबार ०९:३९

सप्तरी । कोरोना संक्रमणबाट बच्न लकडाउन लगाइएको छ । र, यो समयमा घरमै बस्न भनिदैं आएको छ । घरबाहिर निस्के सुरक्षाकर्मीको गाली सुन्नुपर्नेदेखि लाठी समेत खानुपर्ने बाध्यता छ । तर, सप्तरीको पूर्वी भेगका बासिन्दालाई भने न घरभित्र शान्ति छ नत बाहिर नै । बाहिर आउँदा प्रहरीको लाठी खाने डर, भित्र बस्दा हात्तीले ज्यान लिने डरका कारण यस क्षेत्रका बासिन्दा आतंकित बनेका छन् ।

नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट प्रायः दैनिक रुपमा निस्किने हात्तीले सर्वसाधारणको बालीनाली सखाप पार्नेदेखि, घर तोड्फोड र व्यक्तिमाथि समेत आक्रमण गर्दै आएका छन् ।

जिल्लाका कंचनरुप नगरपालिका, अग्निसाइर कृष्णासावरण तथा रुपनी गाउँपालिकामा दैनिक रुपमा हात्ती आउने गरेको स्थानीयले बताएका छन् । अग्निसाइर कृष्णासावरण गाउँपालिकामा पछिल्लो पाँच दिन यता नियमित हात्ती प्रवेश गरिरहेको स्थानीय प्रदीप आचार्य बताउँछन् । उनका अनुसार बारीमा लगाइएको अन्न र तरकारी खाँदै हात्तीले सर्वसाधारणको घर समेत भत्काउँदै आएका छन् ।

बैशाख १७ गते राति आएको हात्ती आँगनभित्र पस्दा त्रसित भएर भाग्न खोजेका अग्निसाइर कृष्णासावरण गाउँपालिका ६ महुलीका भुवन आचार्य लडेर घाइते भएका छन् । ‘हात्ती आँगनमै पसेपछि उहाँ ज्यान जोगाउन दौडेर भाग्न खोज्दा लड्नुभयो’ प्रदीपले भने, “लडेपछि उहाँको नाक, छाती, निधारसहित शरीरमा अधिकांस ठाउँमा गम्भीर चोट लागेको छ ।”

उनलाई तत्कालै उपचारका लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लग्नुपरेको प्रदीपले सुनाए । ‘सम्बन्धित सबै निकायलाई हात्ती दैनिक पसेर जनतालाई सताइरहेको जानकरी छ’ उनले भने, “तर कसैले कुनै किसिमको ध्यान दिन सकेका छैनन् ।”

यसअघि गत माघ र फागुनमा हात्ती आक्रमणबाट यस क्षेत्रका दुई जनाले ज्यान गुमाइसकेका छन् । कंचनरुप नगरपालिका ५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखिया र वडा नम्बर ११ गोरपार बस्ने नन्दकिशोर मण्डलकी ५३ बर्षीया कौशिला देवी मण्डलको हात्ती आक्रमणमा मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News