जिल्ला प्रशासन कार्यालय रौतहट ले सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका देहायका क्षेत्रमा कुनै पनि व्यक्ति आवत–जावत गर्न, भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम कर्फ्यू लागू गरिएको हो।
कर्फ्यू लागू गरिएका क्षेत्रहरू यसप्रकार छन्–
पूर्व : मुडवलवा गेट
पश्चिम : ललवैया बाँध
उत्तर : बम नहर
दक्षिण : गौर भन्सार कार्यालय गेट
कर्फ्यू आदेशको उल्लङ्घन गर्नेलाई कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
झडप र आगजनी, सुरक्षाकर्मीको कडा परिचालन
कर्फ्यू आदेश जारी हुनुको कारण गौर नगरपालिका–६ सवगढामा दुई समुदायबीच पुनः झडप भई अवस्था नियन्त्रण बाहिर जानु हो। शनिबार बिहानदेखि सुरु भएको झडपका क्रममा गौरमा ३ वटा गाडी र २ वटा मोटरसाइकलमा आगजनी गरिएको छ। साथै, एक पेट्रोल पम्पमा तोडफोडसमेत भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णुप्रदीप वस्याल ले आगजनी र तोडफोड भएको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्।
झडप चर्किँदै गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल का सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल र सशस्त्र प्रहरीका रामहरी अधिकारी पुगेर कमाण्ड सम्हालेका छन्।
यस अघि शुक्रवार स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो।
विवाह जन्तीबाट सुरु भएको विवादको पृष्ठभूमि
घटनाको पृष्ठभूमि केही दिनअघि सवगढामा विवाहको जन्ती बाजा बजाउँदै जाँदा सुरु भएको हो। स्थानीय सत्य नारायण साहकी छोरीको विवाहको जन्ती बौधिमाई नगरपालिका–९ सरमुजवा बाट सवगढातर्फ आउँदै गर्दा मस्जिद अगाडि बाजा बजाइएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। विवाद चर्किँदै जाँदा दुवै पक्षबीच ढुंगा हानाहान हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए।
शुक्रबार जिल्ला प्रशासन कार्यालयको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहान पुनः झडप सुरु भई अवस्था तनावग्रस्त बनेको हो।
यसैबीच गत ८ गतेदेखि इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएकाले धार्मिक संवेदनशीलता झनै बढेको स्थानीयवासीको भनाइ छ।
हाल कर्फ्यू आदेशसँगै गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।


