जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीय प्रणालीको रक्षा मधेसको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताएका छन् ।
सङ्घीयताको जननी नै मधेस प्रदेश भएकोले मधेसको सङ्घर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा सङ्घीयता स्थापित भएको उनले स्मरण गराए ।
‘सङ्घीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रीकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ,’ सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले आइतबार मतदातालाई सम्बोधन गर्दै भने, ‘तर मधेस जागरूक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन् ।’
सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले सङ्घीयता माथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्तिहरू सङ्घीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
‘मुलुकमा सङ्घीयता धानिएकै मधेस प्रदेशको दृढ अडानको कारणले हो । मधेसले आवाज उठाएन भने सङ्घीयता केवल कागजमा सीमित हुनेछ । अधिकारको रक्षा गर्न मधेस सधैँ अग्रपंक्तिमा उभिएको छ,’ अध्यक्ष यादवले भने ।
मधेसको शक्तिलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः सङ्घीयता कमजोर पार्ने प्रयास भएको उनले स्पष्ट गरे । ‘मधेस कमजोर भयो भने सङ्घीयता रहँदैन । त्यसैले मधेसलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको अपरिहार्य आवश्यकता हो,’ उनले जोड दिए ।
चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सङ्घीयताको रक्षा, अधिकारको सुनिश्चितता र स्वाभिमानको संरक्षणका लागि मतदानमार्फत जसपा नेपाललाई बलियो बनाउन आमजनतालाई सार्वजनिक अपिल गरेका छन् ।


