जनमत पार्टीबाट रौतहट–२ मा उम्मेदवार बनेका सोनु कुशवाहाले पार्टीबाट राजीनामा दिएका छन् ।
जनमत पार्टीमा व्यक्तिवाद तथा परिवारवाद हाबी भएको भन्दै आफूले राजीनामा दिएको कुशवाहाले बताए । परिवर्तनको लागि जनमत पार्टीबाट उम्मेदवारी दिए पनि युवामाथि दमन हुँदा पनि पार्टीले केही नबोलेको गुनासो गर्दै उनले पार्टीभित्रै जनताको आवाज सुन्ने वातावरण नहुँदा पार्टीमै बस्नुको कुनै अर्थ नरहने भन्दै राजीनामा दिएको उनको भनाइ छ ।
पार्टीबाट उम्मेदवार बन्न लगाइए पनि कुनै समन्वय नरहेको तथा पार्टी नेतृत्व आफ्नै क्षेत्र तथा दाइको क्षेत्रमा व्यस्त रहेको समेत आरोप लगाएका छन् । उनीसंगै सो क्षेत्रका अन्य नेताहरू पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । पार्टीभित्र आन्तरिक असन्तुष्टि, नेतृत्वको एकलौटी निर्णय, स्थानीय जनभावनाको उपेक्षा तथा विकासका मुद्दामा स्पष्ट रोडम्याप नदेखिएको भन्दै राजीनामा दिएको प्रस्ट्याए ।
जनमतबाट उम्मेदवारी दिएका सोनुले राजीनामा दिएसंगै कसलाई समर्थन गर्ने भन्नेबारे आन्तरिक छलफलमा रहेको बताइएको छ ।



