२०८२ फाल्गुन ११, सोमबार ११:१५

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था जटिल बन्दै गएपछि स्थानीय प्रशासनले सोमबार बिहान देखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहान ९ः४५ बजेदेखि लागू हुने गरी महानगरका संवेदनशील तथा मुख्य क्षेत्रहरूमा पूर्ण निषेधाज्ञा जारी गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार अर्को सूचना जारी नभएसम्म सर्वसाधारणको आवतजावत, भेला, जुलुस, सभा–सम्मेलन, बैठक तथा घेराउलगायत सबै प्रकारका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम कडा कदम चालिएको स्पष्ट पारेको छ।

कफ्र्यु लागू हुने क्षेत्रको चार किल्ला समेत निर्धारण गरिएको छ। पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभाग कफ्र्युको दायराभित्र पर्नेछ। उक्त सिमानाभित्र कसैले पनि अनुमति विना हिँडडुल गर्न पाउने छैन।

यद्यपि प्रशासनले अत्यावश्यक तथा मानवीय सेवामा भने सहजीकरण गर्ने जनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन तथा स्वास्थ्यकर्मीका सवारी साधनलाई निर्वाध सञ्चालनको व्यवस्था गरिएको छ। सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थी र कर्मचारी, पर्यटकका सवारी साधन तथा कूटनीतिक नियोगका गाडीलाई पनि सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने उल्लेख गरिएको छ। हवाई टिकट भएका यात्रुको आवागमनमा समेत अवरोध नहुने प्रशासनको भनाइ छ।

पछिल्ला घटनाक्रमले शहरमा सुरक्षा चुनौती थपिएको र सामाजिक सद्भाव खल्बलिन सक्ने संकेत देखिएपछि कफ्र्यु लगाउनुपरेको प्रशासन स्रोतले जनाएको छ। हाल महानगरका प्रमुख चोक तथा गल्लीहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रशासनले आदेश उल्लंघन गर्नेलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै सर्वसाधारणलाई संयम र सहयोगको अपिल गरेको छ।

Comment


Related News

Latest News

Trending News