पोखराबाट काठमाण्डु आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुबाहक बस गए राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खस्दा दर्जनभन्दा बढीको मृत्यु भएको छ ।
मध्यराति नै उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले राजमार्गबाट बस देखिए पनि तल झेरर उद्धार गर्न करिब आधा घण्टा लागेको थियो । ठाडो भिरका कारण आधा घण्टाको प्रयासपछि सुरक्षाकर्मी बस भएको ठाउँमा पुगेका थिए । २०० मिटरको ठाडो भिरबाट तल खसेकाले बस कच्याकुचुक भएको थियो ।
सुरक्षाकर्मीहरूले जसोतसो शव र घाइतेहरूलाई बसबाट निकाले पनि सडकमा ल्याउन समय लागेको धादिङ प्रहरीका डीएसपी प्रकाश दाहालले बताए । नेपाली सेनाको भैरव गणको टोली, सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली उद्धारमा खटिएको थियो ।
सशस्त्र र पर्यटन व्यवसायीको ¥याफ्ट बोटमार्फत करिब एक किलोमिटर तल पु¥याएपछि सडकमा निकालेर एम्बुलेन्समार्फत अस्पतालसम्म लगिएको थियो । सुरुमा मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल प्राथमिक उपचार गरेपछि थप उपचारका लागि काठमाण्डु पठाइएको छ । कलंकीस्थित नेसनल मेडिकल कलेजमा १० जना र राष्ट्रिय ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ । २५ जनालाई काठमाडौं पठाइएकोमा एक जनाको मृत्यु भएको छ ।
बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन । तर प्रहरी स्रोतका अनुसार चालकको पहिचान हुन सकेको छैन । ४५ सिट क्षमताको उक्त बस दुर्घटना हुँदा चालक, सहचालकसहित ४४ जना थिए । बसमा क्षमताभन्दा बढी यात्रु नरहेको, बस पुरानो पनि नरहेको, बाटोको अवस्था पनि राम्रो रहेकाले दुर्घटना के कारणले हुन गएको भन्ने विश्लेषण गर्न सुरक्षाका निकायलाई चुनौती थपिएको छ । सबै अवस्था ठिकठाक देखिएकाले तीव्र गति वा चालकको गल्तीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ ।
बस दुर्घटनापछि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक बसेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, यातायात व्यवसायी महासंघका प्रतिनिधिहरूसहित बसेको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिले दुर्घटनाको सत्य–तथ्य पत्ता लगाउने र दिएका सुझावहरू कार्यान्वय गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी गराईन् ।
१९ जनाको मृत्यु र २५ जना घाइते भएको गए रातिको यो दुर्घटना १८ दिनको अन्तरमा भएको तेस्रो ठूलो दुर्घटना हो । १८ दिनको अन्तरालमा यसअघि दुई ठूला दुर्घटना भएको छ । माघ २३ मा बैतडीमा पनि ठूलो दुर्घटना भएको थियो । पुर्चौडी नगरपालिका–७ स्थित भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटना भएको थियो ।
सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा त्यतिबेला १३ जनाको मृत्यु भएको थियो । बस बझाङको सुनकुडातर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल बस खसेको थियो । यसको चार दिनपछि रामेछापमा अर्को ठूलो दुर्घटना भएको थियो । माघ २७ मा काठमाण्डुबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोशी नदीमा खस्दा १२ जनाको ज्यान गएको थियो । सडकबाट नदीमा खसेको बस गोताखोरमातर्फत उद्धार गरिएको थियो ।
नदीबाट सुरक्षाकर्मीहरूले शव निकालेका थिए । १८ दिनको बीचमा भएका यी तीन ठूला दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो । त्यस्तै ठूला दुर्घटना भएपछि सरकारले छानबिन समितिहरू बनाउँदै आएको छ । सरकार दुर्घटनाको केही दिनमा विशेष चासो राखे जसरी छानबिन समिति गठन गर्ने र कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जनाउँदै आएको छ ।
२०८१ असार २८ मा नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा दुई वटा दुर्घटना भएपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव छवि रिजालको संयोजकत्वमा समिति नै गठन गरेको थियो । उक्त समितिले प्रतिवेदन बुझाउँदै दुर्घटनाको कारण आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटेर सुझावसमेत दिएको थियो । प्रतिवेदनमा दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा परिषद् गठन गर्नुपर्ने सुझाव दिएको थियो ।
सडक सुरक्षा ऐन निर्माण गरि नुपर्ने, राजमार्गमा अटोमेटेड भेइकल मोनिटरिङ सिस्टम, भेइकल इन्ट्री मेकानिजम राख्नुपर्ने जस्ता सुझाव दिएको थियो । तर ती सुझावहरू अहिलेसम्म पनि सरकारले कार्यान्वयनमा ल्याउन सकेका छैनन् । राजमार्गका निश्चित दूरीहरूमा रिफ्रेसमेन्ट सेन्टर स्थापना गर्नुपर्ने, भेइकल फिटनेस सेन्टरको स्थापना गर्नुपर्ने, टाइम कार्ड लागु गर्नुपर्ने, राजमार्गमा हुने तीव्र गतिको जाँच गर्न सर्भिलेन्स र मोनिटरिङ सिस्टम हुनुपर्नेलगायतका सुझाव समितिले दिएको थियो ।
तर त्यतिबेला प्रतिवेदन सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री रमेश लेखकले समितिले दिएका सुझावहरू कार्यान्वयन गर्ने भनेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । तर अहिलेसम्म यस्ता प्रतिवेदनहरू कार्यान्वय नहुँदा नागरिकले सवारी दुर्घटनामा मृत्यु हुने क्रम भने रोकिएको छैन ।


