यस वर्ष होलीरफागु पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचन एउटै समयमा परेकाले रौतहटमा सुरक्षा सतर्कता बढाइएको छ। यही सन्दर्भमा जिल्ला प्रशासन कार्यालय रौतहट ले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा जारी सूचनामा निर्वाचनको प्रचार–प्रसार र मौन अवधिकै बीच होली पर्व परेकाले राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, मतदाता तथा सर्वसाधारणले उच्च जिम्मेवारीका साथ व्यवहार गर्नुपर्ने उल्लेख छ। प्रशासनले आपसी सद्भाव, शान्ति र सौहार्द कायम राख्दै मर्यादित र अनुशासित ढंगले पर्व मनाउन अनुरोध गरेको छ।
प्रशासनका अनुसार निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना अनिवार्य छ। उल्लंघन भएको खण्डमा सम्बन्धित निर्वाचन निकाय वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। साथै, भीडभाड हुने कार्यक्रम, मेला वा जात्रा आयोजना गर्नुअघि अनिवार्य अनुमति लिनुपर्ने र अनुमति बिना कुनै पनि कार्यक्रम नगर्न चेतावनी दिइएको छ।
होलीलाई एकता र भाइचाराको पर्वका रूपमा मनाउन जोड दिँदै कसैको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्ने जस्ता अमर्यादित गतिविधि नगर्न प्रशासनले स्पष्ट निर्देशन दिएको छ। निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सार्वजनिक स्थानमा हिँडडुल गरिरहेका व्यक्तिलाई दुःख–हैरानी हुने कुनै पनि कार्य अस्वीकार्य हुने सूचनामा उल्लेख छ।
त्यसैगरी, मादक तथा नशालु पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न, सार्वजनिक स्थानमा होहल्ला नगर्न र चर्को आवाजमा डिजे लगायत ध्वनि प्रदूषण गर्ने उपकरण नबजाउन आग्रह गरिएको छ।
प्रशासनको सूचनामा कानुन विपरीतका गतिविधि गरे वा गराएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ। केही दिनअघि गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच उत्पन्न विवादका कारण तनाव सिर्जना भएको पृष्ठभूमिमा, त्यस्ता घटना दोहोरिन नदिन प्रशासनले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।



