पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोद कुमार यादवको हत्यामा संलग्न रहेको आशंकामा महोत्तरीको रामगोपालपुर नगरपालिकाका गणेश महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपित महतोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको स्रोतले दाबी गरेको छ । आरोपित महतोले भारतीय सुटर प्रयोग गरी हत्या गराइएको प्रारम्भिक आशंका छ । फागुन ३ गते सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित डेरामा रहेका सब–इञ्जिनियर यादवलाई गोली हानी हत्या गरिएको थियो ।
पक्राउ परेका आरोपित महतो यादवसंगै लोकसेवा आयोगले उनको नाम वैकल्पिक उम्मेदवारमा निकालेको थियो । इञ्जिनियर यादवको हत्यापछि आफ्नो नाम अघि बनाउने र सरकारी जागिरका लागि मुख्य दाबेरदार हुने लोभमा उनको हत्या गराइएको स्रोतले बताएको छ । मलंगवास्थित जिल्ला अदालत सर्लाहीबाट बुधबार आरोपित महतोमाथि अनुसन्धानका लागि १५ दिने म्याद थप लिएको जनाइएको छ ।
यस घटनाबारे थप अनुसन्धान जारी नै रहेको सर्लाही प्रहरीले जनाएको छ ।


