श्रीलङ्कालाई हराए पनि पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइलनमा पुग्न असफल भएको छ । पल्लेकेलेमा हिजो भएको खेलमा पाकिस्तानले घरेलु टोली श्रीलङ्कालाई ५ रनले हरायो ।
पाकिस्तानले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन मात्र बनाउन सक्यो । श्रीलङ्काका कप्तान दसुन शनाकाले नटआउट ७६ रन, पवन रथनायकेले ५८ रन बनाए । पाकिस्तानका अब्रार अहमदले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनायो । पाकिस्तानका शाहिबजादा फरहानले १०० रन, फखर जमानले ८४ रन बनाए । श्रीलङ्काका दिनशान मदुशन्काले ३ विकेट लिए ।
सेमिफाइनलमा पुग्नका लागि पाकिस्तानले श्रीलङ्कालाई १ सय ४५ रनमा रोक्नुपर्ने थियो । योसँगै ‘सुपर–एट’ को समूह २ बाट न्युजिल्यान्ड नेट रनरेटमा अघि रहेर सेमिफाइनलमा पुगेको छ । श्रीलङ्का यसअघि नै बाहिरिइसकेको थियो । यो समूहबाट यसअघि इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।
टी–२० विश्वकपमा आज ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ३ बजे जिम्बावे र दक्षिण अफ्रिका तथा बेलुका पौने ७ बजे भारत र वेस्ट इन्डिज खेल्दैछन् । यो समूहबाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ । भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ । जिम्बावे यसअघि नै बाहिरिइसकेको छ ।
१०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २४ गते हुनेछ ।


