२०८२ फाल्गुन १९, मंगलवार ०८:५६

आज बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात् झन्डै आधा भाग ढाकिने चन्द्रग्रहण लाग्नेछ ।

चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । बेलुका ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुनेछ । बेलुका ७ बजेर ४ मिनेटमा चन्द्रग्रहण सकिन्छ ।

नेपालबाट झन्डै एक घण्टा चन्द्रग्रहण देखिनेछ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने र आँखालाई असर नगर्ने खगोलविद्ले बताएका छन् । खुला ठाउँबाट पनि नाङ्गो आँखाले हेर्न सकिन्छ । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो ।

आज बिहान ९ बजेदेखि बेलुका ७ बजेर ४ मिनेटसम्म भोजन गर्न नहुने भनिए पनि बालबालिका, रोगी, अशक्त, वृद्धवृद्धालगायतलाई नियम पालना अनिवार्य छैन । यसपछि २०८४ सालमा खण्डग्रास सूर्यग्रहण देखिनेछ ।

Comment


Related News

Latest News

Trending News