निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडिओ सन्देश जारी गर्दै कसैले आचारसंहिता विपरीत गतिविधि गरे निर्वाचन आयोगलाई खबर गर्न आग्रह गरे।
उनले भने, ‘मौन अवधिमा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ। हामीले त्यस्ता अनियमित र अवैध कामहरू गर्न जो उद्धत हुन्छन्, ती व्यक्तिहरू पहिचान गरेर यदि त्यस्तो काम भएको छ भने हामीलाई कृपया जानकारी दिनुस् भनेर आयोगले पटक पटक सरोकारवाला सबैमा आग्रह गरिआएको छ।’
कानुनले निषेध गरेको क्रियाकलाप कसैले गरेर वस्तुगत प्रमाणले ठहरिए उम्मेदवारको उम्मेदवारीसमेत खारेज गर्दै ६ वर्षसम्म कुनै पनि चुनावी प्रक्रियामा सहभागी हुन नपाउने गरी कारबाही गर्ने बताए।
उनले थपे, ‘यदि त्यस्तो भयो भने त्यसमा शून्य सहनशीलता हुन्छ। र सबै सरोकारवालाले जहाँ जस्तो जे पाउनुहुन्छ सूचना निर्वाचन आयोगलाई दिनुस्, त्यस्ता विषयमा निर्वाचन आयोग कारबाही गर्न पछि हट्दैन।’
उनले अहिले सामाजिक सञ्जालका बारेमा पेचिला सवालहरू आएको बताए।
उनले भने, ‘सामाजिक सञ्जाल त्यस्तो कसैले त्यसरी सामाजिक सञ्जाल गलत ढङ्गले परिचालन गरेर सामाजिक सञ्जालमा आफ्नो इच्छित उद्देश्य पूर्ति गर्ने प्रयोजनको लागि त्यस्ता समाचारहरू प्रसारण गर्नुभएको छ भने त्यो अहिले झिक्दिनुस् हामीले पटक पटक आग्रह गरेका छौँ। मौन अवधिमा झन् त्यस्ता समाचारहरू सम्प्रेषण भए भने त्यो स्रोतको खोजी गरेर कहाँबाट त्यो प्रवाह भएको छ, त्यो स्रोतलाई नै कारबाही गर्छौँ।’
उनले निर्वाचन सम्पन्न भइसकेपछि छिटो भन्दा छिटो निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्ने बताए। मतपेटिका प्राप्त भएको २४ घण्टाभित्र मतपरिणाम घोषणा गर्ने लक्ष्य आयोगले राखेको समेत बताएका छन्।

