२०८२ फाल्गुन २२, शुक्रबार ०७:०४

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ देखि हालसम्म सबैभन्दा कम मतदान भएको देखिएको छ । निर्वाचनअघि परिवर्तन भनी नामले उत्साह देखिएकोमा निर्वाचनका दिन खासै उत्साह देखिएन । अहिलेसम्म भएको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी नै मतदान भएको तथ्यांकले देखाउंछ । तर बिहीवार सम्पन्न निर्वाचनमा अनुमानित मात्र ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा अघिल्ला निर्वाचनको तुलनामा थोरै मत खसेको हो । भदौमा भएको जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि ताजा जनादेशका लागि यो निर्वाचन भएको थियो । आयोगका अनुसार पुरुषः ९६ लाख ६३ हजार ३५८ र महिलाः ९२ लाख ४० हजार १३१ गरी कुल मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता यस वर्ष रहेको छ । आयोगका अनुसार केही ठाउँमा सामान्य छिटफुट घटना बाहेक देशभर शान्तिपूर्ण मतदान भएको छ । गणतन्त्र स्थापनापछिको १८ वर्षमा दुईवटा संविधानसभा र दुईवटा संघीय प्रतिनिधिसभा निर्वाचन भइसकेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८, २०५१ र २०५६ सालमा संसदीय निर्वाचन भएको थियो । ती निर्वाचनमध्ये सबैभन्दा बढी मत २०७० सालको संविधानसभा निर्वाचनमा खसेको आयोगको तथ्यांकले देखाएको छ । आम निर्वाचन, २०४८ मा १ करोड ११ लाख ९१ हजार ७७७ मतदातामा ७२ लाख ९१ हजार ८४ (६५.१५%), २०५१ मा १ करोड २३ लाख २७ हजार ३२९ रहेकोमा ७६ लाख २५ हजार ३४८ (६१.८६%) र २०५६ मा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता रहेकोमा ८८ हजार ९४ हजार ५६६ (६५.७९%) मतदान भएको थियो ।

संविधानसभा निर्वाचन–२०६४

पहिलो संविधानसभा निर्वाचनमा कुल मतदाता एक करोड ७६ लाख ११ हजार ८३२ रहेकोमा कुल एक करोड ८ लाख ६६ हजार १३१ मत खसेको थियो । त्यसमध्ये एक करोड ३ लाख ६ हजार १२० मत सदर भएको थियो । पाँच लाख ६० हजार ११ मत बदर भएको थियो । समग्रमा ६१.६९ प्रतिशत मत खसेको थियो । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुल एक करोड ११ लाख ४६ हजार ५४० मत खसेको थियो । त्यसमध्ये एक करोड ७ लाख ३९ हजार ७८ (९६.३४ प्रतिशत) मत सदर भएको थियो । त्यतिबेला अस्थायी मतदाताको व्यवस्था थियो । सरकारी कार्यालय, स्थानीय निकाय, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थानमा कार्यरत कर्मचारी, सैनिक, प्रहरी ब्यारेकमा रहेका, माओवादी शिविरमा रहेका लडाकु, कारागारमा रहेका कैदी, बन्दी, निर्वाचन केन्द्रमा खटिएका कर्मचारीलाई अस्थायी मताधिकारको व्यवस्था मिलाइएको थियो । संविधानसभा सदस्य निर्वाचनका लागि ४ लाख १३ हजार ५४४ अस्थायी मतदाता थिए ।

संविधानसभा निर्वाचन–२०७०

दोस्रो संविधानसभा सदस्य निर्वाचनमा एक करोड २१ लाख ४७ कुल मतदता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ९० लाख ४४ हजार ९०८ अर्थात् ७४.४६ प्रतिशत मत खसेको थियो । समानुपातिकतर्फ ९४ लाख ६३ हजार ८६२ मत खसेको थियो ।
प्रतिनिधिसभा निर्वाचन–२०७४ नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कुल मतदाता एक करोड ५४ लाख २८ हजार १६० रहेकोमा कुल सदर मत एक करोड पाँच लाख ८१ हजार ६८७ थियो । त्यतिबेला कुल बदर मत चार लाख ५० हजार ४८४ थियो । त्यस निर्वाचनमा कुल प्रतिशत मत ६८.५९ रहेको थियो । यसैगरी समानुपातिकतर्फ कुल सदर मत एक करोड पाँच लाख ५० हजार ५२० रहेकोमा बदर मत १५ लाख ३१ हजार २२३ थियो । कुल ६८.३८ प्रतिशत मत खसेको थियो ।

प्रतिनिधिसभा निर्वाचन–२०७९

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० थिए । जम्मा खसेको मत एक करोड ५६ लाख ६७ अर्थात् ५८.७ प्रतिशत मत खसेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाअघि भएको तीनवटा संसदीय निर्वाचनमा ६५ प्रतिशतमाथि मत खसेको थियो । २०७० सालमा सबैभन्दा मत खसेको थियो ।

Comment


Related News