२०८२ फाल्गुन २४, आईतवार १४:५६

प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु नेपाली जनता, संविधान र राष्ट्रको जित भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले विशेष अवस्थामा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु ठूलो उपलव्धी भएको र नेपाली जनता, संविधान र राष्ट्रको जित भएको बताउनुभएको हो ।

निर्वाचन सम्पन्न गरेर शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिन सकेको उहाले बताउनुभयो । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न योगदान गर्नेप्रति आभार प्रकट समेत गर्नुभयो । लोकतन्त्रमा मतपत्र केवल कागजको टुक्रा नभइ नागरिकको आत्मसम्मानको प्रतीक भएको उहाले बताउनुभयो । उहाले एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी हुँदैन भन्ने कुरा निर्वाचित जनप्रतिनिधिहरुले हेक्का राख्नुपर्ने धारणा राख्नुभयो ।

कानुनी रूपमा जनादेशको अवधि पाँच वर्षको भए पनि यसको नैतिक वैधता प्रत्येक क्षणमा जनताको विश्वासबाट पुनः अनुमोदित हुँदै जानुपर्ने उहाको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको र पछिल्ला दशकमा राज्यका विभिन्न संरचनामा महिला सहभागिता उल्लेखनीय रूपमा बढेको उल्लेख गर्नुभयो । अझै पनि महिलाहरू विभेद, असमान अवसर, लैङ्गिक हिंसा र संस्कृतिजन्य असमानताबाट मुक्त हुन नसकेकाले महिलाहरू अधिकारका लागि अझ दृढताका साथ अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।

उहाले महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्न समे मात्रै लोकतन्त्र सुदृढ हुने समेत बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News