२०८२ फाल्गुन २५, सोमबार ०६:३७

धनुषा निर्वाचन क्षेत्र नम्बर–१ को मतपरिणाम घोषणा रोकिएको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आपत्ति जनाउँदै विरोध गरेको छ ।

नेकपाका नेता मातृकाप्रसाद यादवले धनुषाधाममा आइतबार निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्नबाट रोक लगाएको निर्णयप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका छन् । नेकपाका कार्यकर्ता तथा समर्थकहरुले आफ्नो उम्मेदवार निर्वाचित भए पनि निर्वाचन आयोगले सुशासनको नाममा कुशासन प्रदर्शन गरेको भन्दै आयोगको कामकारबाहीमाथि प्रश्न उठाएका छन् ।

उनीहरुले तत्काल निर्वाचित भएका उम्मेदवारलाई आयोगले प्रमाणपत्र उलब्ध गराउनु पर्ने माग गर्दै प्रदर्शनसमेत गरेका छन् । नेकपा उम्मेदवार मातृकाप्रसाद यादवले निर्वाचन आयोगले दोहोरो मापदण्ड अपनाएको आरोपसमेत लगाए । उनले आयोगले पटकपटक पत्र पठाएर द्वन्द्व सृजना गराउन खोजेको आरोपसमेत गाए ।

आयोगका शाखा अधिकृत अरुण अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले मतगणनाको परिणाम घोषणा नगर्न भन्दै तेस्रो पटक पत्र पठाएर रोक लगाएका छन् । आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएपछि पहिलोपटक फागुन १८ गते किशोरी साहको उम्मेदवारी खारेजी गरेको थियो ।

मतपरिणाम सार्वजनिक भइरहँदा फागुन २३ गते आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै किशोरीको मत गणना गरी सार्वजनिक नगरी छुट्टै लगत राख्न भनेको थियो । किशोरी साहबाहेक नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४८५ मत र नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News