नेपाली कांग्रेसका पदाधिकारीहरुले मतादेश पाएका छैनन् । प्रतिनिधि सभा निर्वाचनमा सभापति सहित उम्मेदवार रहेका आठै जना पदाधिकारी पराजित भएका छन् ।
विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा पुगेका पदाधिकारीहरु मध्ये प्रतिनिधि सभामा उम्मेदवारी दिएका सबै पदाधिकारीहरु पराजित भएका छन् । प्रधानमन्त्रीका लागि कांग्रेसले प्रस्ताव गरेको सभापति गगन थापा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा पूर्व सहकर्मीबाट ११ हजार बढी मतान्तरले पराजित भएका छन् ।
कांग्रेस पार्टीले प्रत्यक्ष तर्फ १७ सिट जितेको छ । तर त्यस मध्ये पदाधिकारी कोही पनि छैनन् । ‘नेपाली कांग्रेस २.० ः बदलियौं कांग्रेस, बदल्छौ देश’ नारा दिएर सभापति थापालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको कांग्रेसले भने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको सुनामीलाई मत्थर गर्न सकेन ।
थापाले नै २०७९ सालको आम निर्वाचनमा डा.अमरेश कुमार सिंहको टिकट काटेका थिए ।तर सिंह स्वतन्त्र भएर नै चुनाव जितेका थिए । उनै सिंहसित सर्लाहीमा भिड्न पुगेका थापा लज्जास्पद पराजय भोग्नु परेको छ । निर्वाचनको सम्पूर्ण परिणाम घोषणा हुँदा सम्म कांग्रेस पार्टी दोस्रो स्थानमा रहने छ । सभापति समेत पदाधिकारीका लागि त्यो परिणामले केहि सन्तुष्टि देलान् । तर समग्रमा कांग्रेसको नेतृत्व मतादेशबाट अनुमोदित हुन सकेनन् ।
कांग्रेसका उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चुनाव लडेका थिएनन् । उपसभापति शर्मा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रहेका थिए । महामन्त्रीहरू प्रदीप पौडेल र गुरूराज घिमिरे पनि नराम्ररी पराजित भएका छन् । पौडेल र घिमिरेलाई रास्वपाका उम्मेदवारहरुको बिरुद्ध मतदाताहरुले मतदान गरेनन् ।
काठमाण्डु –५ बाट पौडेल र मोरङ–४ बाट घिमिरे रास्वपाका उम्मेदवारसँग पराजित भए । महामन्त्री पौडेल रास्वपाका सम्मित पोखरेलसंग साढे २१ हजार मतले पराजित भएका छन् । पौडेल २०७९ को आम निर्वाचनमा ५ नम्बर क्षेत्रबाट विजयी भएका थिए । महामन्त्री घिमिरे रास्वपाका उम्मेदवार सन्तोष राजवंशीसंग २८ हजार मतले पराजित भएका छन् ।
पराजित भएको पीडालाई घिमिरेले समाजिक सञ्जालमा पोखे । सात जना सहमहामन्त्रीहरूका लागि पनि निर्वाचन अनुकूल बन्न सकेन । निर्वाचनमा पराजित हुने सहमहामन्त्रीहरूमा फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा रहेका छन् । सहमहामन्त्री मन्सुर मधेश प्रदेशको बारा– ३ मा रास्वपाका अरबिन्द साहसँग ३० हजार बढी मतान्तरले हारेका हुन् । ललितपुर–१ मा महामन्त्री राणालाई पनि मतदाताले विश्वास गरेनन् ।
उनीपनि रास्वपाकै उम्मेदवार बुद्धरत्न महर्जनसँग १० हजार मतले पराजित भए । त्यस्तै सहमहामन्त्री रसाइली सुदूरपश्चिमको बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरसँग २ हजार बढी मतले हारेका छन् । अर्का सहमहामन्त्री चौधरी पनि लुम्बिनी प्रदेशको दाङ–१ मा रास्वपाकै उम्मेदवारसँग पराजित भएका छन् ।
रास्वपाका उम्मेदवार नेता देवराज पाठकले उनलाई २७ हजारभन्दा बढी मतले हराएका छन् । कर्णाली प्रदेशको डोल्पामा उम्मेदवार रहेका सहमहामन्त्री बुढा आफ्नै सहोदर भाइसंग (नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार) धनबहादुर बुढासंग पराजित भएका हुन् । उनी झण्डै ४ हजार मतले पराजित भएका छन् । कोशी प्रदेशमा तीन, मधेश प्रदेश र बागमती प्रदेशमा एक/एक, गण्डकी र लुम्बिनीमा दुई÷दुई, कर्णालीमा पाँच र सुदूरपश्चिममा तीन स्थानगरि कुल १७ स्थानमा जित निकालेको छ ।
चुनावमा नराम्ररी पराजित भएपछि कांग्रेसका पदाधिकारीहरुको राजीनामाको माग उठ्न थालेको छ । चुनावको उम्मेदवारी दर्ता हुनु अघिल्लो दिनसम्म महाधिवेशन र टिकट व्यवस्थापनमा अल्झिएका नेताहरु सोझै चुनावमा जाँदा मतदाताहरुको मन जित्न नसकेको बताइन्छ । रास्वपाले चुनावमा बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्दा त्यसको काट कांग्रेसले दिन सकेन ।
सभापति थापा स्वयं प्रधानमन्त्रीको उम्मेदवार रहेको घोषणा पार्टीबाट गराए पनि मतदाताले उनलाई पत्याएनन् । देशमा पहिलो पटक तराई, पहाड र हिमाल जोड्ने प्रधानमन्त्रीको उम्मेदवार बालेनको कारण नै रास्वपाको पक्षमा सुनामी आएको छ ।


