काठमाण्डू । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार एक अर्काका पूरकका रुपमा रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित श्रव्यदृश्य अन्तक्र्रियामा उहाँले समाजका राम्रा नराम्रा कुराको खबरदारी गर्दै अघि बढिरहेको राज्यको चौथो अङ्गलाई सङ्कुचित गर्ने काम नगर्न सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष शर्माले भन्नुभयो, “आँखामा पट्टी बाँध्न, मुख थुन्न सकिए पनि मस्तिष्कमा आउने विचारलाई कसैले रोक्न सक्दैन, राजनेताको तस्वीर र भाषण छाप्ने कि प्रताडितका जनजीवनसँग सम्बन्धित घटनालाई प्राथमिकता दिने भन्ने विषयमा भने पत्रकारिता क्षेत्रले छुट्याउन सक्नुपर्छ । प्रेस स्वतन्त्रता भएन भने लोकतन्त्रका अवयव स्थापित हुन सक्दैन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध आउने चुनौतीको सामना गर्न पत्रकारिता जगत् र नागरिक समाज मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पूर्वअध्यक्ष शिव गाउँलेले राज्यका कमीकमजोरी औँल्याउने र सुधारका लागि आलोचना गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रलाई सरकारले विरोधीका रुपमा हेर्ने गरिएकाले यस्तो प्रवृत्तिलाई बदल्न महासङ्घले भूमिका खेल्न आवश्यक रहेको सुझाव दिनुभयो । पूर्वअध्यक्ष तारानाथ दाहालले राजनीतिक पक्षबाट प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको खम्बाका रुपमा हेर्ने र सोहीअनुरुपको वातावरण नबनाउँदा पत्रकारमाथिको आक्रमण दोहोरिँदै आएको बताउनुभयो ।
उपाध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताको पूर्ण अभ्यासको वातावरण बनाउन र लोकतन्त्रलाई समृद्ध तुल्याउन सरोकारवाला पक्ष एकठाउँमा उभिन आवश्यक रहेको बताउनुभयो । महासचिव रमेश विष्टले गएको एक वर्षको अवधिमा ९४ वटा प्रेस स्वतन्त्रतामाथि उल्लङ्घनका घटना भएको जानकारी दिँदै प्रदेशगत तहमा त्यसरी भएका घटनाको विवरण प्रस्तुत गर्नुभयो ।
सो अवसरमा अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका सम्बन्धमा महासङ्घले तयार गरेको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभयो । यस वर्षको प्रेस स्वतन्त्रता दिवसको मूल नारा ‘भय र पक्षपातबाट मुक्ति’ भन्ने रहेको छ । महासङ्घले नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९५ देखि विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि कलम चलाएकै कारण विभिन्न आरोपमा विश्वमा अहिले एक हजार ७०० भन्दा बढी पत्रकार जेल जीवन बिताइरहेको सो अवसरमा जानकारी दिइयो । कोभिड–१९ सङ्क्रमणको जोखिममा पनि अहिले कैयौँ पत्रकार घटनास्थलमा पुगेर समाचार सम्पादन गरिरहेको पक्षलाई राज्यले मूल्याङ्कन गर्न आवश्यक रहेको वक्ताहरुको भनाइ थियो ।