धनुषाको कमला नगरपालिकाका शिक्षकहरू जनप्रतिनिधिहरूले विगतमा गरेको सहमति कार्यान्वयनको माग गर्दै पुनः आन्दोलित भएका छन् ।
गत पुस अन्तिम साता दुवै पक्षबीच भएको सम्झौता अनुसारको बक्यौता ८ महिनाको तलबभत्ता एकमुष्ट दिनुपर्ने र नियमित तलब उपलब्ध गराउनु पर्ने मागसहित शिक्षकहरू पठनपाठन बन्द गरी पुनः आन्दोलित भएका हुन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २२ किलोमिटर पूर्वमा अवस्थित कमला नगरपालिकाको पाँचवटा मावि, दुईवटा निमावि र दशवटा प्राविका शिक्षकहरू आन्दोलित भएपछि सात हजार बालबालिकाले पढ्न पाएका छैनन् ।
केही शिक्षक नगरपालिकामा धर्नामा छन् भने केही विद्यालय खोले पनि कक्षा सञ्चालन भने नगरेको जनहीत माध्यमिक विद्यालय माचि झिटकैयाका प्रधानाध्यापक जगन्नाथ यादवले जानकारी दिएका छन् । पालिकाका १ सय ४९ जना शिक्षकहरू माग पूरा नभएसम्म विद्यालय सञ्चालन नगर्ने भन्दै गत पुस १ गतेदेखि २२ गतेसम्म विद्यालय बन्द गरी हड्तालमा उत्रेका थिए ।
जनप्रतिनिधिहरू बीचको असमझदारीका कारण असार १० गतेभित्र गरिसक्नुपर्ने नगर सभा अहिलेसम्म बोलाउन नसकेपछि शिक्षक मात्र होइन स्वास्थ्य, कृषि, वडा सचिव लगायतका कर्मचारीहरूले पनि दशैं, तिहार र छठ जस्तो महत्त् वपूर्ण चाडपर्व बितिसक्दा पनि तलब भत्ता पाउन सकेका छैनन् ।
जनप्रतिनिधिहरूबीचको आपसी विवादले चालू आर्थिक वर्षको बजेट आउन नसकेका कारण विकास निर्माणको काम त ठप्प छ नै कमला नगरपालिकाका ९ हजार ५ सयभन्दा बढी व्यक्तिले विगत आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता समेत पाएका छैनन । तात्कालीन हरिने, लक्कड, सिंग्याही मडान, दुबरकोट, माची झिटकैयालगायत ६ वटा गाविसहरू मिलेर बनेको कमला नगरपालिकाको ९ वटा वडामा ४२ हजारभन्दा बढी मानिसको बसोबास छ ।
गत वर्ष भदौमा ५७ करोडभन्दा बढीको बजेट ल्याएको नगरपालिकाले चालू आर्थिक वर्षको आठ महिना बित्न लागे पनि नगर परिषद्समेत आन्तरिक विवादले बोलाउन सकेको छैन ।



