२०८२ फाल्गुन २९, शुक्रबार ०७:३६

सिरहाको औरही गाउँपालिका– ५ औरही गाउँको दक्षिणतर्फ नेपाल–भारत सीमा नजिकै रहेको पोखरीमा बुधबार मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए अनुसार औरही– ५ की चन्द्रकला यादवले पोखरीमा भेटिएकी महिलाको शव आफ्नी बुहारीको रहेको सनाखत गरिएको छ । मृतक महिला वैदेशिक रोजगारीमा रहेका औरही– ५ का सरोजकुमार यादवकी श्रीमती करिब २२ वर्षीया खुश्वु यादव रहेको खुलेको प्रहरीले जनाएको छ ।

शव सिरहा प्रादेशिक अस्पतालबाट पोष्टमार्टमका लागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । उनका अनुसार परिवारका सदस्यहरुसँग गरिएको प्रारम्भिक सोधपुछ र अनुसन्धानमा मृतक महिला मंगलबार दिउँसो घाँस काट्न जान्छु भन्दै बोरा र कचिया लिएर घरबाट निस्किएको बुझिएको छ ।

‘प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ, पोष्टमार्टम भएपछि थप केही खुल्छ’ उनले भने । रातो समिज सुरुवाल, गलामा मंगलसूत्रसमेत लगाएकी महिलाको नाकबाट हल्का रगतसमेत देखिएकाले अन्यत्र हत्या गरी पोखरीमा ल्याएर फालिएको हुन सक्ने स्थानीयले आशंका गरेको भएपनि प्रहरीले भने अनुसन्धान नगरी केही भन्न नसकिने जनाएको छ।

औरही गाउँपालिकाका पूर्वअध्यक्ष सिद्धार्थ यादवको कुखुरा फर्मको पोखरीमा घोप्टो परेर तैरिरहेको अवस्थामा भेटिएकी महिलाको शव तत्काल प्रहरी चौकी औरही र जिल्ला प्रहरीबाट आएको टोलीले आवश्यक कानुनी प्रकृया पूरा गरी प्रादेशिक अस्पताल पठाएको थियो । पूर्वपश्चिम हुलाकी सडकबाट करिब पाँच सय मिटर दक्षिण नेपाल भारत सीमा नजिक रहेको घटनास्थल पोखरीको उत्तरपट्टि डिलमा बोरा, कचिया, चप्पलसमेत भेटिएको थियो ।

श्रीमान् विदेशमा रहेकाले प्रायः माइतीमै बस्दै आएकी मृतक महिला करिब १५ दिनअघि मात्र ससुरा दुःखी यादव लिन गएपछि घर फर्किएको माइती पक्षले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News