जनकपुरधाम उपमहानगर क्षेत्रभित्र ठूला सवारी साधनको प्रवेशमा रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी चाप व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दिनको समयमा नगरभित्र ठूला सवारी प्रवेश नगर्न/गराउन भनी विभिन्न स्थानमा जानकारीका लागि ट्राफिक सम्बन्धी होडिङ बोर्ड जडान गरेको छ ।
आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको पहलमा जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय धनुषा तथा जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा ट्राफिक जनचेतनामूलक होडिङ बोर्डहरू विभिन्न चोक तथा सडक क्षेत्रमा राखिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाको निर्णयअनुसार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक, टिपर लगायतका ठूला सवारी साधनलाई नगर क्षेत्रभित्र प्रवेश गर्न निषेध गरिएको छ ।
पिडारी चोकदेखि भित्री बाटो हुँदै मिल्स एरिया, भानुचोक लगायतका क्षेत्रमा हाइवे बाहेकका सडकमा ठूला सवारी साधनलाई प्रवेश गर्न नपाइने गरी सूचना बोर्ड जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले नगर क्षेत्रमा बढ्दो सवारी चाप, पैदल यात्रुको चहलपहल र सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै यस्तो व्यवस्था लागू गरिएको बताए ।
उनका अनुसार नगर क्षेत्रमा दिनको समयमा ठूला सवारी सञ्चालन हुँदा ट्राफिक जाम, दुर्घटनाको जोखिम र सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुने गरेको गुनासो बढेपछि सम्बन्धित निकायको समन्वयमा यस्तो निर्णय गरिएको हो । ‘सडक सुरक्षा अभिवृद्धि, दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरभित्र ठूला सवारी साधनको प्रवेशमा समय निर्धारण गरिएको हो । सबै सवारी चालक तथा व्यवसायीलाई उक्त नियम पालना गर्न आग्रह गर्दछौं,’ प्रहरी निरीक्षक शाहीले भने ।
ट्राफिक प्रहरीले नगर क्षेत्रका प्रमुख स्थानहरूमा चेतनामूलक होडिङ बोर्ड जडान गरी चालकहरूलाई नियमबारे जानकारी गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ । साथै नियम उल्लंघन गर्ने सवारी साधनमाथि आवश्यक कारबाही गरिने चेतावनी समेत उनले दिएका छन् ।



