२०८२ चैत्र ३, मंगलवार ०५:४०

राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा सांसद बनाउनका लागि क्लस्टर मिलाएर निर्वाचन आयोगमा बुझाएको सूची प्रति व्यापक असन्तुष्टि बढेको छ ।

समानुपातिकमा तोकिएको मापदण्ड पूरा गरेर सांसद पाएका ६ राजनीतिक दलले आइतबार सूची बुझाएका थिए । समानुपातिकतर्फ विगतमा झैँ यस पटक पनि पार्टीकै प्रभावशाली नेता केन्द्रित नातावाद हावी हुने भएको भन्दै व्यापक रुपमा आलोचना भएको छ । यस पटक नयाँ भनिएका दलले पनि ‘नातावाद’लाई नै प्रश्रय दिएको देखिएका छन् ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले ४/४ जना सांसद पाएका छन् । सो सिटमा क्लस्टर अनुसार सिफारिस गर्दा ४ दलले नेताका परिवार, नातेदार र आर्थिक चलखेलका आधारमा प्राथमिकतामा राखेर सिफारिस गरेको भन्दै आलोचना भएको छ ।

कांग्रेस, एमाले, नेकपा, राप्रपा र रास्वपाले समानुपातिक सूचीमा परिवार, नातेदार र आर्थिक चलखेलका आधारमा धनाढ्यलाई रोजेर सांसदमा सिफारिस गरेका छन् । कांग्रेसबाट सिफारिस भएका ४ जना तथा नेकपा एमाले, नेकपा र राप्रपाबाट सिफारिस भएका १÷१ जना नेताका नातेदार छन् ।

कांग्रेसको खस आर्य क्लस्टर पुरुषबाट सिफारिस भएका अर्जुननरसिंह केसी पार्टी सभापति गगन कुमार थापाका ससुरा हुन् । केसी यसअघि पनि पटक–पटक सांसद र मन्त्री भइसकेका छन् । कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार बनाउँदा देउवा नै पार्टी सभापति थिए । देउवाकै हस्ताक्षरसहित कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको थियो ।

राष्ट्रिय पञ्चायतदेखि अहिलेसम्म अवसरै अवसर पाएका केसी २०४८, २०५१, २०७० र २०७९ मा नुवाकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । अहिले ज्वाइँ पार्टी सभापति हुँदा समानुपातिकतर्फबाट सांसदमा सिफारिस भएपछि उनको आलोचना हुन थालेको छ ।

त्यस्तै कांग्रेसकै मधेशी क्लष्टरबाट सांसद सिफारिस भएका डा. चन्द्रमोहन यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवका पुत्र हुन् । उनी यसअघि पनि प्रत्यक्ष जितेर प्रतिनिधि सभा सदस्य भएर काम गरिसकेका छन् । त्यस्तै पूर्वराष्ट्रपति यादवकी भतिजी रेखा यादवको पनि नाम सिफारिस गरिएको छ । कांग्रेसबाटै खस आर्य महिलातर्फ सांसद सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती छन् । उनी पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकी थिइन् ।

रुकमणि देवी कोइरालालाई पनि समानुपातिक सांसदमा सिफारिस गरिएको छ । उनी कांग्रेसका नेता डा.शेखर कोइरालाकी श्रीमती हुन् । त्यस्तै मधेशी कोटामा सांसद सिफारिस भएकी निनुकुमारी कर्ण कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी हुन् । कांग्रेस भ्रातृसंस्था महिला संघको राजनीतिबाट राजनीतिमा आएकी कर्ण पूर्वसांसद हुन् ।

त्यस्तै नेकपा एमालेले जनजाति क्लस्टरबाट सांसद बनाएकी भूमिका सुब्बा एमाले नेता वसन्त नेम्वाङकी श्रीमती हुन् । सुब्बाले एमालेको भ्रातृसंस्था जनसांस्कृतिक महासंघको अध्यक्ष हुन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट खस आर्य क्लस्टरमा सांसद सिफारिस भएकी बलावती शर्मा नेता देवेन्द्र पौडेलकी श्रीमती हुन् ।

शर्मा पूर्वविधायक हुन् । उनले २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य भएर काम थिइन् । शर्माका श्रीमान् देवेन्द्र पौडेल पूर्वशिक्षामन्त्री पनि हुन् । तत्कालीन माओवादीले चलाएको जनयुद्धकालदेखि नै पार्टीमा सक्रिय रहेका उनीहरू माओवादी हुँदै नेकपाको राजनीतिमा सक्रिय छन् । बागलुङबाट निर्वाचन लड्दै आएका पौडेल यस पटक निर्वाचन क्षेत्र परिर्वतन गर्दै नवलपरासी–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार थिए । तर उनी पराजित भए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामालाई आदिवासी जनजाति महिला क्लस्टरबाट सांसद सिफारिस गरेको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहमन्त्री र प्रजातन्त्रकालमा पटक–पटक मन्त्री र सांसद भएका तामाङले यस पटक श्रीमतीलाई सांसद बनाएका छन् । त्यस्तै रास्वपाबाट धनाढ्यलाई नै समानुपातिक तर्फको सांसद बनाएको छ ।

दलहरूले सिफारिस गरेको नामावलीलाई निर्वाचन आयोगले निर्धारण गरेको क्लस्टरको संख्या आधारमा प्रमाणपत्र दिनेछ । हरेक दलले हरेक क्लस्टरमा नाम सिफारिस गरिए पनि मधेशी दलितको नाम भने कुनै पनि दलले नगरेको दलितका नेताहरुको मन खिन्न भएको छ ।

Comment


Related News