अपडेट 
२०७७ बैशाख २२, सोमबार ०७:०२

जलेश्वर । महोत्तरी जिल्लाको भँगहा नगरपालिकामा ११ दिनमा १२ जनाको विशाक्त मदिरा सेवनबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ ।

भँगहा नगरपालिकाको वडा नम्बर ७ को गोरहन्ना र बर्दिबास नगरपालिकाको वडा नम्बर ४ जुरीमा भएको १२ जनाको मृत्युको कारण विशाक्त मदिरा नै रहेको स्वास्थ्य विज्ञहरुको टोलीले ठहर गरेकोछ ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको संयोजनमा रहेको इपिमिडियोलोजी तथा सरुवा रोग महाशाखाका एकजना डा.अमृत कुमार पोखरेल र विश्व स्वास्थ्य संगठन(डब्लु एच ओ)का एकजना चिकित्सकगरि दुई जनाको टोलीले शनिवार र आइतवार स्थलगत रुपमा अनुसन्धानगरि मृत्युको कारण विशाक्त मदिरा रहेको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीले बताए । ‘१२ दिनमा एक जना महिला सहित १२ जनाको मृत्यु भएकोछ’ चौधरीले भने, स्थानीय बासिन्दाहरुको कथन, मृतकहरुले गर्ने मदिरा सेवन र मृत्यु हुनु भन्दा अगाडी देखिने लक्षणहरुको अधारमा कारण यकिन गरिएकोछ ।

ग्रामिण भेगमा अबैध रुपमा उत्पादित मदिरा विपन्न मानिसहरुले सेवन गरेको पाइएकोछ । ’मदिरासेवनगरि ज्यान गुमाएका परिवारजनहरुले पनि गत शुक्रवार खाएको रक्सीको स्वाद फरक रहेको चर्चा गरेका छन्’ चौधरीले भने, विशाक्त मदिराको सेवनबाट आइतवारपनि एकजना मानिसको मृत्यु भएकोछ ।

दुवै वडामा थारु, मुसहरहरुको बढी बसोबास रहेको छ । उनीहरुले अबैध रुपमा उत्पादित मदिरा सेवन गरेको देखिन्छ । दुवै नगरपालिकाको वडाहरुमा गरिएको कोरोना भाइरसको आरडीटी र पीसीआर टेस्ट निगेटिव आएको चौधरीले बताए ।

अबैध मदिरा उत्पादन र बिक्री गर्नेहरुको बिरुद्ध अभियान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

मृत्युको कारण विशाक्त मदिरा नै रहेको स्वास्थ्य विज्ञहरुको समेत निष्कर्ष रहेकाले अबैध रुपमा उत्पादन हुने मदिरा बिरुद्ध ब्यापक प्रहरी परिचालन गरिएको एसपी अधिकारीले बताए ।‘घर घरमा नै रक्सी बनाएर खाने प्रवृती देखिएकोछ’ उनले भने, प्रहरीले अबैध रुपमा मदिरा उत्पादन र बिक्री बितरण गर्नेहरुलाई कडा कार्वाही गर्नेछ ।

फागुन महिनाको अन्तिम हप्तामा अबैध मदिरा सेवनबाट धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिकाको रमदैयामा २१ जनाको मृत्यु भएको थियो ।महोत्तरी जिल्लाको भँगहा नगरपालिकाबाट नै अबैध मदिरा ल्याएर रमदैयामा बिक्री गरिएको आरोपमा प्रहरीले भँगहाका एकजनालाई पक्राउ समेत गरेको थियो ।

Comment


Related News

Latest News

Trending News