बढ्दो छाडा चौपाया समस्यालाई नियन्त्रण गर्न नयाँ उपायस्वरूप जनकपुरधाम उपमहानगरपालिकाले पशु ट्यागिङ अभियान सुरु गरेको छ ।
गौशाला सञ्चालनमा ल्याए पनि समस्या समाधान हुन नसकेपछि उपमहानगरले अब पशु पहिचानमार्फत पशुधनीलाई नै जिम्मेवार बनाउने रणनीति अघि बढाएको हो । दुई वर्षदेखि गौशाला सञ्चालनमा रहे पनि पशुधनीले गाईवस्तु छोड्ने प्रवृत्ति नहटेकाले समस्या झन् जटिल बन्दै गएको उपमहानगरका पशुविकास अधिकृत प्रभाकर झाले जानकारी दिएका छन् ।
विशेषगरी दूध नदिने गाईहरू बेवारिसे छोड्ने चलनका कारण नगर क्षेत्रमा छाडा चौपायाको संख्या बढ्दै गएको उनले बताए । उनका अनुसार उपमहानगरले यसअघि पनि पशु छोड्ने धनीलाई जरिवाना गर्दै आएको छ । तर, अब ट्यागिङ प्रणाली लागू गरेपछि पशु र पशुधनी दुवैको पहिचान स्पष्ट हुने भएकाले बारम्बार पशु छोड्नेहरूलाई कानुनी दायरामा ल्याउन सहज हुने विश्वास गरिएको छ ।
ट्यागिङ अभियानमार्फत नगरभित्र रहेका पशुहरूको संख्या, जात र पशुधनीको विस्तृत अभिलेख तयार पार्न समेत सहयोग पुग्ने उपमहानगरको भनाइ छ । यसले दीर्घकालीन रूपमा छाडा चौपाया व्यवस्थापनमा प्रभावकारी सुधार ल्याउने विश्वास गरिएको छ ।



