मधेश प्रदेशका राजधानी जनकपुरधामलाई व्यवस्थित शहर बनाउन प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो आफै सडकमा ओर्लेका छन् ।
मन्त्री महतोले राजधानी जनकपुरधामलाई सफा, व्यवस्थित र ट्राफिक जाममुक्त बनाउने उद्देश्यका साथ फुटपाथ अतिक्रमण हटाउने अभियानलाई सक्रिय रुपमा अगाडि बढाएका छन् । बारम्बार आएको गुनासोका आधारमा उनले आफैँ सडकमा उत्रिएर प्रहरीको सहयोगमा फुटपाथ खाली गराउने काम सुरु गरेका हुन् । उनको मुख्य तर्क फुटपाथ पैदल यात्रुका लागि बनाइएको संरचना भएकाले त्यसलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्नु गलत हो भन्ने हो।
तर, उनले व्यवसायीहरूको रोजगारीप्रति पनि संवेदनशीलता देखाउँदै तत्काल समाधानको रूपमा रंगभूमि मैदान मा सर्न आग्रह गरेका छन् । जहाँ व्यवस्थित रूपमा व्यापार सञ्चालन गर्न सकिने बताइएको छ । यसले शहर व्यवस्थापन र उनीहरुको जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्थापन हुने उनले बताएका छन । फुटपाथ पैदल यात्रुका लागि बनाइएको हो, यसलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्नु गलत हो,मन्त्री महतोले भने,हामी कसैको रोजगारी खोस्न खोजिरहेका छैनौं । तर, व्यवस्थित व्यापार आवश्यक भएकाले दिर्घकालिन व्यवस्थापनका लाग हामी स्थानीय तहसँग समन्वय गर्नेछौं ।
यता फुटपाथ व्यवसायीहरूले एकातिर उपमहानगपालिकाको ठेकेरदार बट्टी लिइरहेको छन् अर्कोतर्फ प्रदेश सरकारले हटाइरहेका छन् । यस्तोमा आफूहरु कहाँ जाने भन्ने मन्त्रीसँग गरेका थिए । मन्त्रीले तत्काल रंगभूमि मैदानमा सर्न आग्रह गरेपछि उनीहरुले रंगभूमि मैदानमा ग्राहक जान नसक्ने भनेर अन्य वैकल्पिक व्यवस्था गर्न गरेका छन् । यसअघि मन्त्री महतोले मन्त्रालयमै सरोकारवालाबीच भएको सर्वपक्षीय बैठकबाट प्रदेशका राजधानी जनकपुरधामलाई स्वच्छ, सुन्दर र सफा शहर बनाउन अभियान सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम नगर क्षेत्रभिको फुटपाथ खाली गराइएको हो ।
विश्वका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेका यहाँका ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको संरक्षण सहित सडक, फूटपाथ, फोहर तथा ट्राफिक व्यवस्थापन तीनै तहका सरकारका बीचमा अधिकतम समन्वय तथा सहकार्यमा बैठकमा जोड दिईएको थियो । कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री महतोले मधेश प्रदेशको राजधानी जनकपुरधामलाई विश्वका पर्यटकहरुको लागि आकर्षकको केन्द्र बनाउने सहितको कार्ययोजना कार्ययोजना सहितको रणनीति सर्वपक्षीय वैठकमा पेश गरेका थिए ।
उनले जनकपुरधामको मठमंन्दिर, पोखरी संरक्षण सहित फूटपाथ, सरसफाई, सडक सौन्दर्यीकरण, ट्राफिक व्यवस्थापन, ई–रिक्साको व्यवस्थापन, हरियाली प्रवद्र्धन तथा नगरको सौन्दर्यीकरणको विविधपक्षहरु समेटिएको कार्ययोजना पेश गरेका थिए । सो बैठकमा बोल्दै मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री मनिष कुमार सुमनले मधेश प्रदेशका जिल्लाहरुमा करिव ८४ हजारको संख्यामा ई–रिक्सा रहेको बताउदै ई–रिक्सालाई व्यवस्थित गर्नका लागि कानून निर्माणको तयारीमा मन्त्रालय रहेको जानकारी गराएका थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले जनकपुरधामको बढ् दो जनसंख्या बाहिरवाट आउने तीर्थयात्रीको संख्या तथा शहरी क्षेत्रको बढ्दो चाँप र फुटपाथ अतिक्रमणले नगरको व्यवस्थापनमा चुनौति देखिएको धारणा राखेका थिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले फूटपाथको व्यवस्थापनका लागि सुरक्षा निकाय, व्यवसायी तथा नगरपालिका मिलेर काम गर्नु पर्ने सुझाव दिएका थिए भने चेम्बर अफ कमर्सका उपाध्यक्षसरोज कुमार मिश्रले जनकपुरधामको मूल समस्याको रुपमा रहेको ट्राफिक, फूटपाथ तथा ई–रिक्साको व्यवस्थापन रहेकाले २०७९ सालमा उपमहानगरपालिकाले प्रकाशित राजपत्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।


