भारत–नेपाल सीमाक्षेत्रमा सक्रिय तस्करी नियन्त्रण गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ठूलो परिमाणको फर्सीको बीउसहित एक ट्रक नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
एसएसबी ७१औँ बटालियन, मोतिहारीको इन्टेलिजेन्स शाखालाई प्राप्त गोप्य सूचनाका आधारमा उक्त कारबाही गरिएको हो। सूचनाअनुसार नेपालको बाराजिल्लाको विभिन्न नाक हुँदै मोटरसाइकलमार्फत फर्सीको बीउ भारतको बसवरिया गाउँ ९घोडासहन थाना क्षेत्र० सम्म ल्याई संकलन गरिँदै थियो। त्यसपछि उक्त बीउ युपी ४२ ईटी ७८६२ नम्बरको ट्रकमा लोड गरी अन्यत्र पठाउने तयारी गरिएको थियो।
यसैबीच डीआरआई मुजफ्फरपुरसँग समन्वय गरी एसएसबीको टोलीले लक्ष्मीपुर लौखन नजिक घोडासहन–ढाका सडकखण्डमा निगरानी बढाएको थियो। आईएनबी सीमा स्तम्भ नं। ३५७र३ बाट करिब ८ किलोमिटर भारततर्फ पर्ने उक्त स्थानमा बुधबार राति करिब १० बजे शंकास्पद ट्रकलाई रोकी जाँच गर्दा चालक र सहचालकलाई नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक सोधपुछका क्रममा ट्रकमा लोड गरिएको फर्सीको बीउ दिल्लीतर्फ लैजाँदै गरेको खुलेको छ। नियन्त्रणमा लिएको ट्रकलाई रातभर एसएसबी क्याम्पमा राखिएको थियो भने बिहीबार बिहान थप अनुसन्धानका लागि डीआरआई कार्यालय, मुजफ्फरपुर पठाइएको छ।
पक्राउ पर्नेहरूमा उत्तर प्रदेश, फैजाबादका ३५ वर्षीय मोहम्मद हसिब र बाराबंकीका ३१ वर्षीय मोहम्मद सलमान रहेका छन्।
ट्रकमा करिब ३०० बोरा फर्सीको बीउ फेला परेको छ, जसको कुल तौल ११ हजार ५५० किलोग्राम रहेको छ। भारतीय बजारमा प्रति किलोग्राम ३२० रुपैयाँका दरले यसको अनुमानित मूल्य ३६ लाख ९६ हजार रुपैयाँ रहेको एसएसबीले जनाएको छ।


