सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित रौतहटमा सार्वजनिक सवारी साधनहरूको यान्त्रिक परीक्षणलाई तीव्रता दिइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट तथा यातायात व्यवस्था कार्यालय, गौरको संयुक्त पहलमा शनिबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर नगरपालिका–४ क्षेत्रमा सञ्चालनमा रहेका ३५ वटा सवारी साधनको परीक्षण गरिएको हो।
ट्राफिक प्रहरी प्रमुख ईन्स्पेक्टर राजेन्द्र थापा मगरको नेतृत्वमा खटिएको टोलीले बस, ट्रक, टाटा सुमो तथा ईभी गाडीहरूको अवस्था जाँच गरेको थियो। परीक्षणका क्रममा यातायात व्यवस्था कार्यालय गौरका मेकानिकल सुपरभाइजर अनिष साहसहितको प्राविधिक टोलीले ब्रेक, लाइट, टायर लगायतका महत्वपूर्ण प्राविधिक पक्षहरूको सूक्ष्म निरीक्षण गरेको जनाएको छ।
जाँचका क्रममा समस्या भेटिएका सवारी साधनहरूलाई तत्काल मर्मत तथा सर्भिसिङ गर्न निर्देशन दिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। समयमै यान्त्रिक परीक्षण गरी सवारी सञ्चालन गर्दा दुर्घटना न्यूनीकरण हुनुका साथै सम्भावित क्षति पनि कम गर्न सकिनेमा प्रहरीको जोड छ।
सडक सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहित सञ्चालन गरिएको यस्तो अभियान प्रभावकारी देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।



