धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक जनकपुरधामको पोखरी अतिक्रमण हुने क्रम रोकिएको छैन । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको एक मन्दिरको पोखरी गुपचुप रुपमा अतिक्रमण गरी माटो पुर्न थालेपछि रहस्य खुलेको छ ।
वर्षौदेखि अस्तित्वमा रहेको जलाशयमा गुपचपु रुपमा पोखरीमा माटोले पुर्दै गएपछि केही स्थानीयले सो कार्यको विरोध गरेपछि उक्त घटना बाहिरिएको छ । धार्मिक तथा ऐतिहासिक पोखरी पुर्ने काम तीव्र गतिमा अघि बढिरहेको बेला स्थानीयले विरोध जनाउँदै अतिक्रमणको विरोध गरेको थियो । मन्दिरको नाममा रहेको करोडौं मूल्य बराबरको जग्गा व्यक्तिको नाममा पास गरी शैक्षिक संरचना निर्माण गर्ने आन्तरिक तयारी थालिएको थियो ।
रामजानकी कोचिंग सेन्टर तथा रामजानकी अस्पताल सञ्चालक समेत रहेका गणेश साह र एजुकेशन प्वाइन्ट इंग्लिस बोर्डिङ स्कूलका संस्थापक सुकेश्वर यादवको मिलेमतोमा सो पोखरीको अतिक्रमण गर्ने कार्यलाई तीव्रता दिएको थियो । लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएका स्कुलका संस्थापक यादव र संचालक साहको मिलेमतोमा गुपचुप रुपमा मन्दिरको जग्गा खरिद गर्ने नाममा कब्जा गरी निजी संस्थान विस्तार गर्ने योजना बनाएको आरोप छ ।
सो प्रकरणमा जग्गाधनी (भगवान श्री सीताराम) रहेको स्पष्ट हुँदाहुँदै पनि संरक्षक भनिएका सुरेन्द्र कुमार लालमार्फत जग्गा बिक्री गरिएको खुलेको छ । भगवानको नाममा रहेको जग्गा व्यक्तिको नाममा पास भएपछि मालपोत कार्यालयका तत्कालीन प्रमुख रामबाबु मण्डल रहेको बेला रजिष्ट्रेशन गरिएको थियो । कानुनी प्रक्रियाको बेवास्ता गरी पोखरीको जग्गा व्यक्तिको नाममा सारिएको छ ।
साबिकको जनकपुर–४ -ख) कित्ता नम्बर १६६ अन्तर्गत रामानुज दास वैष्णवको नाममा रहेको ११ कट्ठा जग्गा हाल विभिन्न कित्तामा विभाजन गरिएको छ । सि.नं. १३९६–१८ को कि.नं. ५ को २ कट्ठा ५ धुर, सि.नं. १३९६–१७ को कि.नं. ६१ को ३ कट्ठा र कि.नं. ६० को १९ धुर -पोखरीको डिल) रहेको छ ।
यी जग्गाहरू संयुक्त रूपमा गणेश साहकी पत्नी पुष्पाञ्जली साहलगायत प्रमिला यादव, विजयकुमार सुनरैत यादव र रंजेश कुमार सिंहको नाममा पास गरिएको छ । जसमध्ये पोखरी नै रहेको क्षेत्रलाई पुरेर संरचना निर्माण गर्न लाग्दा विवाद सतहमा आएको छ । यसअघि सोही मन्दिर अन्तर्गत रहेको साबिकको जनकपुर–४ -ख) को कि.नं. १४४ को १० कट्ठा १८ धुरमध्ये हालको १३९६— २२ को कि.नं. ५७ को ९ कट्ठा १३ धुर जग्गा समेत अवैध तरिकाले खरीद गरेको नाममा कब्जा गरी त्यसमा श्रीरामजानकी कोचिङ्ग सेन्टर सञ्चालनमा रहेको छ ।
त्यस्तै जानकी मन्दिरको फुलबारी भनिएको जग्गा लिजको नाममा कब्जा गरी श्रीराम जानकी अस्पताल सञ्चालनमा छ । वि.सं. २०२६ सालको सर्वे नापीमा उक्त जग्गा रामानुज दास वैष्णवको नाममा थियो । त्यसपछि २०४४ सालको नापीमा विभिन्न व्यक्तिहरूको नाममा दर्ता गरिएको थियो । त्यसक्रममा एक मन्दिरका पुजारी चर्तुभुज लाल कायस्थले आफू संरक्षक बनेर ठूलो क्षेत्रफल अधिनमा लिएका थिए ।
२०४१ सालमै उनले संरक्षकको जिम्मेवारी आफ्नो भाई चन्द्रनारायणलाई सुम्पेका थिए । २०७४ मा चन्द्रनारायणको निधनपछि २०७५ मा चर्तुभुजका छोरा सुरेन्द्रले संरक्षकको जिम्मेवारी आफूले लिए । जग्गा खरिद गर्नेहरूमध्येका विजयकुमार सुनरैत यादव र रंजेश कुमार सिंहले सुरेन्द्रलाई संरक्षक बनाउन गरिएको सर्जमिनका साक्षीसमेत हुन् ।
सरकारी शिक्षकसमेत रहेका स्कुलका संचालक सुकेश्वर यादवले कि.नं. ६१ को ३ कट्ठा जग्गा खरिद गर्न सुरेन्द्रलाई २०७६ सालमै १५ लाख रुपैयाँ पेश्की दिएका थिए । तर लामो समयसम्म नामसारी नहुँदा विवाद चर्किएको थियो । सो घटनाले मोड लिँदा संरक्षक सुरेन्द्र स्वयंले जग्गा बिक्री नगरेको दाबी गर्दै उजुरी दिएका छन् ।
उनले संचालक गणेश साह र सुकेश्वर यादवले जवर्जस्ती रुपमा कब्जा गरेको आरोप लगाउँदै जनकपुरधाम उपमहानगरपालिकाको कार्यलयमा चैत २ गते निवेदन दिएका थिए । गुठी संस्थान केन्द्रीय कार्यालयका प्रवक्ता जनक पोखरेलले संस्थानको अनुमति बिना जग्गा बिक्री गर्न नमिल्ने भन्दै कुनै पनि हालतमा बेचविखन नभएको मानिने बताए ।
उनका अनुसार यस प्रकरणमा जग्गाधनी भगवान भएकाले बिक्री नै अवैध हो । यस विषयमा गणेश साहले आफूले कुनै अवैध काम नगरेको जिकिर गरे । स्कुल संचालक सुकेश्वर यादवले पनि आफूले वैध रूपमा जग्गा खरिद गरेको दाबी गरे । उनले भने, ‘मैले २०७६ सालमै १५ लाख रुपैयाँ पेश्की दिएको हुँ । जग्गा किन्ने सम्झौता भइसकेको थियो । अहिले आएर अनावश्यक विवाद सिर्जना गरिएको छ ।’ तर पोखरीका संरक्षक सुरेन्द्रले जनकपुरधाम उपमहानगरपालिकामा दिएको निवेदनमा गणेश साह र सुकेश्वर यादवले बलजफती रूपमा मन्दिरको जग्गा कब्जा गर्न खोजेको दाबी गरेका छन् ।
यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा सो जग्गाबारे छानबिन गर्नका लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाइएको छ । सो समितिले एक सातामा प्रतिवेदन पेश गर्ने छ ।



