२०८२ चैत्र १०, मंगलवार ०६:५०

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मधेश केन्द्रित दलले आफ्नो उपस्थिति देखाउन नसकेपछि अन्योलको स्थिति देखा परेको छ । जनता समाजवादी पार्टी(जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, आम जनता पार्टीलगायतका मधेश केन्द्रित दलले निर्वाचनमा एक सिटसमेत ल्याउन नसकेपछि आन्तरिक रुपमा समीक्षा गर्न लागेका छन् । तर आगामी दिनमा अगाडि कसरी बढ्ने बारे अझैसम्म पनि ठोस कार्ययोजना ल्याउन सकेको छैन ।

निर्वाचनमा पराजित भएपछि मधेश केन्द्रित दलका शीर्षनेताले राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको जितसंगै भावी प्रधानमन्त्री हुने पक्कापक्की भएपछि आफ्नै जित सरह देखे पछि अबको मार्गचित्रबारे अन्योल कायमै राखेको छ । प्रधानमन्त्रीको शपथ लिन तयार भएका रास्वपाका वरिष्ठ नेता साहलाई मधेशी केन्द्रित दलहरूले सफलताको शुभकामना दिएपछि उनीहरुबीचमा पनि यस विषयमा विवाद देखिएको छ ।

मधेशी मूलका पहिलो प्रधानमन्त्री नियुक्त हुन लागेकोमा उनीहरू खुसी व्यक्त गरे पनि आफ्नै पार्टीभित्र आलोचित समेत भए । तथापि आगामी कार्यक्रम बनाउने आन्तरिक तयारीमा उनीहरु जुटेका छन् । निर्वाचनमा मधेश प्रदेशबाट एक सिट नजिते पनि जसपा नेपालले चैत दोस्रो साता केन्द्रीय समिति बैठकबाट समीक्षासहितको आगामी कार्यक्रम तय गर्ने जनाएको छ ।

जसपा नेपालका नेता मनिष सुमनले चैत १५ मा निर्वाचनको समीक्षा गरी कार्यक्रम बनाइने जानकारी दिए । मधेश केन्द्रित दलहरू संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी प्रणालीको रक्षाका लागि सचेत रहेको उनले बताए । निर्वाचनमा एक ढिक्का भएर जान नसकेपनि मधेशकेन्द्रित दलको मधेशी मोर्चालाई कायम राखी मधेशका साझा मुद्दामा सहकार्य गर्ने उनले जिकिर गरे । विगतमा भएक कमीकमजारीलाई सच्याउँदै जसपा नेपालप्रति मधेशी जनताको विश्वास कायम राख्ने सुमनले बताए ।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले निर्वाचनलगत्तै संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरे । तर उनले मधेशका मुद्दामा भने निरन्तर संघर्ष गर्ने बताए । २०७५ फागुन २५ मा तराई–मधेशको पृथकतावादी आन्दोलन परित्याग गरी शान्तिपूर्ण आन्दोलनमा आएका जनमतका अध्यक्ष राउतले ०७९ को निर्वाचनमा बेग्दै पहिचान बनाएका थिए ।

उनले भूमिहीन, किसान, दलितका मुद्दामा केन्द्रित भइ राष्ट्रिय पार्टी बनाउन सफल भएका थिए । तर यस निर्वाचनमा तराई मधेशबाट शून्य सिटमा झरेपछि सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए । मधेशमा एक सिटसमेत ल्याउन नसक्दा पनि अबको जनमतको आगामी यात्राबारे उनी स्वयम् अन्योल छन् ।

घुमाउरोपारामा सन्यास लिएको घोषणा गरे पनि उनले पार्टीलाई कसरी हाँक्ने वा नेतृत्व चयनको पद्धति हुने वा परिवारबाटै नेतृत्व हस्तान्तरण हुनेबारे स्पष्ट पार्न नसक्दा कार्यकर्ताहरु समेत उनीबाट सशंकित छन् । तर अब गठन हुने रास्वपाको सरकारको कामका आधारमा समर्थन वा विरोध गर्ने जनमतले जनाएको छ । जनमतका महासचिव चन्दन सिंहले बालेन्द्र साह नेतृत्वको सरकारको कामलाई नजिकबाट हेरेपछि आफ्ना कार्यक्रम बनाउने बताए । मधेश प्रदेशसभा सदस्यसमेत रहेका सिंहले प्रदेशसभाबाट पार्टीका एजेन्डा उठाइरहने बताए ।

०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जसपा नेपालले १२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४ र जनमत पार्टीले ६ सिट जितेका थिए । फागुन २१ को चुनाव अघि जसपा नेपाल र लोसपाबीच पार्टी एकता भयो । निर्वाचनमा मधेशी मोर्चा बनाए पनि एकढिक्का भइ चुनावी मैदानमा उत्रिन नसक्दा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत उम्मेदवार भएका सबै नेता पराजित भएका थिए ।

जसपा नेपालबाट अलग भइ अशोक राईको नेतृत्वको जसपा पनि यो निर्वाचनमा बढारिन पुग्यो । त्यस्तै प्रभु साहको नेतृत्वको आम जनता पार्टीले पनि सिट ल्याउन सकेन । ०७९ को निर्वाचनमा आजपाले एक सिट जितेको थियो । राजनीतिकर्मी उमेश झाले जेन–जी आन्दोलनपछि मधेश केन्द्रित दलसंग नयाँ मुद्दा नभएकाले पराजित हुनुपरेको बताए ।

सत्ता, पार्टी विभाजन गरी अध्यक्ष हुने प्रवृत्तिका कारण मधेशकेन्द्रित दलहरूप्रति भरोसा टुटेको उनको भनाइ छ । २०७९ को निर्वाचनपछि मुख्यरुपमा मधेशकेन्द्रित दलहरू र नागरिक उन्मुक्ति पार्टी सरकार बनाउने समीकरणमा जोडिएका थिए । सरकारमा पुगेपछि उनीहरूले तराई–मधेशका आमजनको भावनालाई प्रत्यक्ष प्रभावित हुने गरी कृषि, रोजगार, विभेद, भेदभावको अन्त्य गर्ने वाचालाई बेवास्ता गरे । जसका कारण उनीहरू प्रतिनिधिसभा निर्वाचन परिणाममा विराम लागेको चर्चा हुने गरेको छ ।

Comment


Related News

Latest News

Trending News