दुई समुदायबीच बढ्दो तनाव कम गर्न कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञा स्थानीय प्रशासनले हटाएको छ। शनिबारदेखि लगाइएको निषेधाज्ञा मंगलबार बिहान ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो ।
महाराजगन्ज नगरपालिका–२ को बर्गदा गाउँमा गत शनिबार बिहान दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि असहज र तनावपूर्ण अवस्था सिर्जना भएको थियो । दुवै पक्षले प्रदर्शन बढाउँदै लगेपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन दिउँसो २ बजेदेखि महाराजगन्ज नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
त्यसैगरी, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकाका क्षेत्रमा आइतबार दिउँसो १ बजेदेखि भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लागू गरिएको थियो । अवस्था क्रमशः सामान्य बन्दै गएपछि शान्ति सुरक्षाको अवस्था सुधार भएको र नागरिकको दैनिक जीवनयापन सहज बनाउन निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
गत चैत ७ गते महाराजगन्ज नगरपालिका–२, बर्गदा गाउँमा दुई समुदायबीच भएको विवादका कारण जिल्लाको दक्षिणी भेग केही समय तनावग्रस्त बनेको थियो । तर सोमबार साँझदेखि स्थिति सामान्य बन्दै गएसँगै जनजीवन पनि सहज हुँदै गएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासनले जिल्लामा रहेका सबै दललाई राखेर यसको समन्वय गरेको थियो भने हिन्दु र मुस्लिमका धर्म गुरुहरुलाई राखेर विवाद अघि बढाउन नदिने प्रतिवद्धता गराइएको थियो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अपील जारी गर्दै सद्भाव कायम राख्न सबैलाई अनुरोध गरेका छन् । उनले सामाजिक सन्जालमा विवाद बढाउने विषयहरु नराख्न सबैलाई अपील गरेका छन् ।



