बारा सङ जोडिएको नेपाल–भारत सीमामा अवैध गतिविधिविरुद्ध सुरक्षाकर्मीले कडाइ बढाउँदा मदिरा र गोरु तस्करीका दुई अलग–अलग प्रयास असफल बनाइएका छन्। दुवै घटनामा गरी दुई जनालाई पक्राउ गरिएको छ भने ठूलो परिमाणमा मदिरा र दुई वटा गोरु बरामद गरिएको छ।
सशस्त्र सीमा बल (एसएसबी) ७१औँ बटालियन पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीका अनुसार गोप्य सूचनाको आधारमा शुक्रबार राति करिब ९स्३० बजे समवाय बरहडवा र प्रहरी चौकी जितनाबीच समन्वय गरी संयुक्त नाका खडा गरिएको थियो। त्यसपछि अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्दै सीमामा विशेष निगरानी बढाइएको थियो।
सोही निगरानीका क्रममा सीमा स्तम्भ नम्बर ३६७र०२ नजिक, भारततर्फ करिब ४०० मिटर भित्र पर्ने बरेला गाउँ आसपास मध्यराति १२स्३५ बजेतिर नेपालबाट सामान बोकेर आउँदै गरेका केही व्यक्ति देखिएका थिए। शंका लागेपछि सुरक्षाकर्मीले रोकिन आदेश दिए पनि उनीहरू सामान फालेर भाग्न खोजेका थिए।
खेद्ने क्रममा एक जनालाई नियन्त्रणमा लिन सफल भएको र अन्य व्यक्ति अँध्यारोको मौका छोप्दै नेपालतर्फ फरार भएको जनाइएको छ। पक्राउ पर्नेमा बिहारको पूर्वी चम्पारण जिल्ला अन्तर्गत बेला जितपुरका सुधांशु शर्मा रहेका छन्।
घटनास्थलमा फालिएका सामान जाँच गर्दा जुटका ६ वटा बोराभित्र ‘कस्तुरी ९निम्बु फ्रेश०’ ब्रान्डका ३०० एमएलका ५८० बोतल, अर्थात् करिब १७४ लिटर मदिरा फेला परेको एसएसबीले जनाएको छ। बरामद मदिरा नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ भने पक्राउ परेकालाई थप अनुसन्धानका लागि प्रहरी चौकी जितनामा बुझाइएको छ।
यसैबीच, अर्को अपरेशनमा गोरु तस्करी पनि विफल पारिएको छ। मोतिहारीस्थित ७१ बटालियनबाट प्राप्त सूचनाका आधारमा महुवा क्षेत्रको गस्ती टोलीले सीमा स्तम्भ नम्बर ३७५र११ नजिकबाट दुई वटा गोरुसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार पक्राउ पर्नेमा पूर्वी चम्पारणको मसाही गाउँका मोहम्मद साबिर रहेका छन्। प्रारम्भिक अनुसन्धानले ती गोरुहरू नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको देखाएको छ।
बरामद गोरु तथा पक्राउ परेकालाई आवश्यक प्रक्रिया पूरा गरी महुवा प्रहरी चौकीमा बुझाइएको एसएसबीले जनाएको छ।



