२०८२ चैत्र १५, आईतवार ०६:०९

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशभर आन्दोलन चर्किएको छ । देशव्यापी रुपमै आन्दोलन चर्किने सम्भावना रहेको आँकलन गर्दै मधेश प्रदेश प्रहरीले राजनीतिक गतिविधिलाई मध्यनजर गर्दै मधेश प्रदेशमा उच्च सतर्कता अपनाउने भएको छ ।

देशमा उत्पन्न राजनीतिक गतिविधिप्रति गम्भीर हुँदै मधेशमा उच्च सतर्कता अपनाउन प्रहरी मुख्यालयले निर्देशन दिएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओली र नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेपछि प्रहरी मुख्यालयले मधेश प्रदेश प्रहरीलाई हाई अलर्टमा बस्न सकुर्लर जारी गरेको छ । शनिबार बिहानदेखि नै हाई अलर्टमा रहन सर्कुलर भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलियाले जनाए अनुसार शनिबारदेखि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर जारी भएको छ । पछिल्लो समय देशमा उत्पन्न विकसित अवस्था र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मधेश प्रदेश प्रहरी र मातहतका प्रहरी युनिटहरूलाई हाई अलर्टमा बस्न भनिएको डिआइजी थपलियाले बताए ।

प्रहरी मुख्यालयको उक्त निर्देशन पछि अहिले सूक्ष्मरुपमा सबै गतिविधि नियाल्ने काम भइरहेको उनको भनाइ छ । डिआइजी थपलियाले भने, ‘आजदेखि हामी सबै राजनीतिक गतिविधि बारे सूक्ष्म हिसाबले सूचना लिने काम सुरु गरेका छौ, बिहानको निर्देशन पछि ८ वटै जिल्लाका प्रहरी प्रमुख (एसपी)साबहरुबाट समन्वय हिसाबले प्रहरी खटाउने कार्य चलिरहेको छ । हाई अलर्टमा बसेर कडा निगरानीका साथै प्रहरी सक्रियता बढाइको छ ।’

शनिबारदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको डिआइजी थपलियाले बताए । भदौ २३ र २४ गते भएको जेन– जी आन्दोलनको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका छन् ।

उनीहरुको पक्राउसंगै मुलुकको विकसित राजनीतिक घटनाक्रमले मधेशमा पनि सुरक्षा चुनौती बढ्ने आशंका गरिएको मधेश प्रदेश प्रहरीको बुझाइ छ । पक्राउको विरोधमा प्रदर्शन र आन्दोलनलगायतका कार्यक्रम हुने देखिएपछि मधेश प्रदेशमा पनि हाई अलर्ट जारी भएको डिआइजी थपलियाले प्रस्ट्याए ।

मधेश प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरी ८ वटा जिल्ला छ । ८ वटै जिल्लामा गरी १० बढी प्रहरी जनशक्ति रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News