बारा | नेपाल–भारत सीमाक्षेत्रमा लागूऔषध तस्करीको प्रयास विफल पार्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ठूलो परिमाणमा कोडिनयुक्त ओनेरेक्स कफ सिरप बरामद गरेको छ। सोही क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको छ।
शनिबार साँझ करिब ७:४५ बजे प्राप्त विशेष सूचनाका आधारमा एसएसबी ७१ बटालियन, मोतिहारीअन्तर्गत ‘बी’ कम्पनी महुआवाले छौडादानो थाना प्रहरीसँग संयुक्त रूपमा अपरेशन सञ्चालन गरेको थियो। अपरेशनका क्रममा बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड सवारीसाधन जाँच गर्दा ठूलो परिमाणमा ओनेरेक्स कफ सिरप फेला परेको हो।
एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीका अनुसार सवारीसाधनबाट १०० एमएलका ८४० फायल ओनेरेक्स सिरप बरामद गरिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त लागूऔषध भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा फेला परेको हो। बरामदगी स्थल सीमास्तम्भ (आईएनबी) बीपी नम्बर ३७६ नजिक, बेला गाउँबाट करिब १० किलोमिटर दूरीमा पर्छ।एसएसबी प्रवक्ता बिनित कुमार सिहका अनुसार
घटनामा एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय जन्मेजय कुमार मिश्र र नेपाल बारा जिल्ला कबहिगोठ–३, जमुनिया निवासी ५० वर्षीय रमेश प्रसाद रहेका छन्।
बरामद गरिएको लागूऔषध र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि छौडादानो थानामा बुझाइएको एसएसबीले जनाएको छ।


