नेकपा ९एमाले० जिल्ला कमिटी रौतहटले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकको गिरफ्तारीको विरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।
केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको नेतृत्वमा गौरमा प्रदर्शनपछि पुगेका एमाले कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालमार्फत सरकारसमक्ष आफ्नो असन्तुष्टि राखेका हुन्।
एमालेले उक्त गिरफ्तारीलाई “गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण” भन्दै कडा आपत्ति जनाएको छ। पार्टीले २०८२ भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति तथा त्यससँग सम्बन्धित घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग पुनः दोहोर्याएको छ।
भदौ २४ गतेको प्रदर्शनमा घुसपैठ गराएर विध्वंसात्मक गतिविधि गराइएको, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, लुटपाट र आगजनी गराइएको भन्दै ती घटनाहरूको निष्पक्ष अनुसन्धान अपरिहार्य रहेको एमालेको भनाइ छ।
विरोधपत्रमा सञ्चारमाध्यम र पत्रकारमाथि देशभर असुरक्षा र धम्कीको वातावरण सिर्जना भइरहेको उल्लेख गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति पनि असन्तुष्टि जनाइएको छ। प्रतिवेदनको पर्याप्त अध्ययनबिना मन्त्रिपरिषद्ले प्रतिशोधपूर्ण ढंगले कारबाही अघि बढाएको आरोप एमालेले लगाएको छ।
एमाले रौतहटले लोकतन्त्र, विधिको शासन र कानुनी राज्यको पक्षमा आफूहरू अडिग रहेको उल्लेख गर्दै ओली र लेखकको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध”को संज्ञा दिएको छ। यस्ता कदमले देशलाई द्वन्द्वतर्फ धकेल्ने खतरा रहेको चेतावनी समेत दिइएको छ।
पार्टीले तत्काल दुवै नेताको रिहाइको माग गर्दै सरकारलाई संयमता अपनाउन आग्रह गरेको छ। साथै, यस्ता गतिविधिविरुद्ध एकजुट हुन नेता–कार्यकर्ता, समर्थक तथा न्यायप्रेमी नागरिकलाई आह्वान गरिएको छ।
प्रदर्शन तथा विरोध कार्यक्रममा केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, पूर्व सांसद रेखा झा, जिल्ला अध्यक्ष सचिदानन्द साह, उपाध्यक्ष रुपेश पटेल, अनिल कुमार झालगायत नेताहरूको सहभागिता रहेको थियो।



