महोत्तरीको बर्दिवासमा प्रस्तावित मेडिकल कलेज तथा पूर्वाधार विकास आयोजना संघीय सरकारले खारेज गर्ने गरेको निर्णयविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् ।
सोमबार बिहानदेखि बर्दिवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । सरकारले अघिल्लो कार्यकालमा स्वीकृत भई निर्माण प्रक्रिया अघि बढिसकेको बर्दिवास मेडिकल कलेज आयोजना खारेज गर्ने निर्णय गरेपछि स्थानीयले त्यसको विरोधमा सडक आन्दोलन थालेका हुन् ।
प्रदर्शनका क्रममा स्थानीयले टायर बाल्दै र नाराबाजी गर्दै चक्काजाम गरेका छन् । चक्काजामका कारण राजमार्गमा यातायात पूर्णरूपमा प्रभावित भएको छ । प्रदर्शनमा सहभागी स्थानीय बिष्णु बम्जनका अनुसार दीर्घकालीन रूपमा यस क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यले अघि बढाइएको आयोजना एकाएक खारेज गर्नु अन्यायपूर्ण निर्णय हो ।
यसले मधेश क्षेत्रका जनताको स्वास्थ्य पहुँचमा गम्भीर असर पार्नेछ । सरकारले चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बर्दिवाससहित बुटवल र सुर्खेतका मेडिकल पूर्वाधार विकास आयोजनाहरू खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति सम्बन्धित क्षेत्रका बासिन्दाहरू असन्तुष्ट बनेका छन् ।
महोत्तरी प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) को गृह जिल्ला हो । त्यही क्षेत्रमा विकास आयोजना खारेज गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । बालेनको पुख्र्यौली घर महोत्तरीको एकडारामा रहेको छ । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गमा सवारी साधन लामो समयसम्म रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासन र सुरक्षाकर्मी व्यापक रुपमा प्रहरी परिचालन गरेको थियो । विरोध प्रदर्शनमा उत्रेका स्थानीयवासीले निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिदैं अझ सशक्त आन्दोलन गर्ने बताएका छन ।



