२०८२ चैत्र १९, बिहीबार ०७:०९

जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित मुजेलियामा गएराति दुई युवकलाई खुकुरी प्रहार गरी घाइते बनाइएको छ ।

प्राप्त जानकारी अनुसार कुम्हरौडा निवासी करिब २७ वर्षीय अजय झा र उनका भिनाजु बकचौडा निवासी करिब ४० वर्षीय सोनु कुमार झा पेट्रोल भर्न मुजेलिया बाबा पेट्रोल पम्प पुगेका थिए । सोही क्रममा मोटरसाइकलमा आएका केही युवकहरूको समूहले अचानक उनीहरूमाथि आक्रमण गरेको बताइएको छ ।

स्थानीयका अनुसार आक्रमणकारीहरू नशाको अवस्थामा रहेको र उनीहरूले अन्धाधुन्ध रूपमा खुकुरी प्रहार गरेका थिए । आक्रमणबाट दुवै जना गम्भीर घाइते भएका छन् । प्रारम्भिक उपचारपछि उनीहरूलाई जनकपुरधामस्थित काव्या अस्पतालमा रिफर गरिएको छ । त्यहाँ अहिले उनीहरूको उपचार भइरहेको छ ।

घटनापछि प्रहरी टोलीले तत्कालै घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । आक्रमणमा संलग्नमध्ये एकजनाको बा. प्रदेश ०२–०५७ प–४१४० नम्बरको केटीएम मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यद्यपि, संलग्न व्यक्तिहरू अझै फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन् । स्थानीयवासीहरूले पनि पछिल्लो समय जनकपुरधाममा आपराधिक गतिविधि बढ्दै गएको गुनासो गर्दै राति हिँडडुल गर्न समेत असुरक्षित महसुस भइरहेको बताएका छन् । उनीहरूले शान्ति सुरक्षाको प्रत्याभूति गराउन प्रहरी प्रशासनलाई कडा कदम चाल्न आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News