मधेश प्रदेशका राजधानी रहेका जनकपुरधाम बजार क्षेत्र क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले फुटपाथ अतिक्रमण हटाउने अभियान जारी रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका र मधेश प्रदेश सरकारको संयुक्त पहलमा भइरहेको अभियानको क्रममा बुधवार पेठिया बजार क्षेत्रमा फुटपाथ अतिक्रमण हटाइएको छ । पेठिया बजार केन्द्रित गरी सञ्चालन गरिएको उक्त अभियानमा स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा नगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।
अभियानका क्रममा सडक किनार तथा पैदलमार्गमा राखिएका ठेला, टहरा तथा अस्थायी संरचनाहरू हटाइएको छ । अभियानको क्रममा सार्वजनिक स्थल अतिक्रमण गरी सञ्चालन गरिएका अनधिकृत पसलहरू हटाउँदै पैदल यात्रुका लागि फुटपाथ खाली गराइएको जनाइएको छ ।
स्थानीय प्रशासनका अनुसार बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आवतजावत सहज बनाउन यस्तो कदम चालिएको हो । उपमहानगरपालिकाका प्रतिनिधिहरूले सार्वजनिक स्थानको संरक्षण र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिइने बताएका छन् । उनीहरूले फुटपाथ पैदल यात्रुका लागि सुरक्षित बनाउन र ट्राफिक व्यवस्थापन सुधार गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
अतिक्रमण हटाइसकेपछि उक्त क्षेत्रमा सौन्दर्यकरण, हरियाली प्रवद्र्धन तथा पैदलमैत्री संरचना विकास गर्ने योजना रहेको जानकारी मन्त्री महतोले दिए । व्यवसायीहरूलाई वैकल्पिक व्यवस्थापनका लागि सहजीकरण गरिने तयारी समेत भइरहेको छ ।
अभियानका क्रममा केही व्यवसायीले असन्तुष्टि जनाए पनि केही स्थानीयले फुटपाथ खाली गराउने कार्यलाई सकारात्मक रूपमा छ भने केहीले व्यवस्थापन गर्नुपर्ने माग गरिरहेका छन् ।



