२०८२ चैत्र १९, बिहीबार ०७:०४

संघीय सरकारविरुद्ध मधेश प्रदेशका सांसदहरु आक्रोशित भएका छन् ।

प्रदेश सभाको बुधवार बसेको बैठकमा बोल्ने अधिकांश सांसदहरुले संघीय सरकारलेका पदाधिकारीहरुले व्यक्तिगत प्रतिशोधका कारण देशलाई मुठभेडतर्फ धकेल्न लागेको आरोप लगाएका थिए । बैठकमा बोल्दै सांसद हरिनारायण यादव ले सरकारको मुख्य काम विकास, बजेट व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्नु भए पनि त्यसतर्फ ध्यान नदिई व्यक्तिगत प्रतिशोधमा केन्द्रित भएको आरोप लगाए। उनका अनुसार सरकार केही व्यक्तिहरूको प्रभावमा चलिरहेको छ र एकपक्षीय छानबिन प्रतिवेदनका आधारमा विपक्षी नेतामाथि झुठा मुद्दा लगाउने तयारी भइरहेको छ ।

यस्तो प्रवृत्तिले भविष्यमा ‘प्रतिशोधको चक्र’ सुरु हुने खतरा उनले औंल्याए । यस्तै, सांसद सुरिता साह ले सरकार जनताबीच द्वन्द्व सिर्जना गर्ने दिशामा अघि बढेको बताइन् । उनले मधेशी जनताको मतबाट सत्तामा पुगे पनि सरकारबाट मधेशी, दलित र आदिवासी जनजातिको प्रतिनिधित्व कमजोर रहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

साथै, संघीयता कमजोर पार्ने संकेत देखिए देशमा नयाँ विद्रोहको सम्भावना रहेको चेतावनी पनि दिइन् । नेपाली कांग्रेसका सांसद राम सरोज यादव ले अझै कडा टिप्पणी गर्दै वर्तमान सरकार जनमतभन्दा बाह्य प्रभावको परिणाम भएको दाबी गरे । उनले भने वर्तमान संघीय सरकार केही विदेशी शक्तिहरुले अन्य देशमा शासन गर्न चालेको नीति डिप स्टेट र एल्गोलिज्म अन्तर्गत गठन भएको भने । उनले जेनजी आन्दोलन, छानबिन समिति गठन र त्यसको प्रतिवेदनलाई जोड्दै देशभित्र योजनाबद्ध रूपमा राजनीतिक समीकरण परिवर्तन गरिएको आरोप लगाए ।

अर्की सांसद बिना देवी शर्मा ले पनि सरकार शासन सञ्चालनभन्दा प्रतिशोधमा केन्द्रित भएको टिप्पणी गरिन्। उनले सरकारको सोच र व्यवहार मधेश विरोधी देखिएको बताउँदै केही नियुक्ति र कदमहरू त्यसकै प्रमाण भएको दाबी गरिन् ।

सांसदहरूले विशेष गरी गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिको प्रतिवेदनप्रति प्रश्न उठाए। उनीहरूको भनाइमा प्रतिवेदनले केही घटनालाई जानाजानी बेवास्ता गर्दै निश्चित दल र नेताहरूलाई मात्र लक्षित गरेको थियो ।

भदौ २४ गतेका हिंसात्मक घटनाहरू—जहाँ जनधनको क्षति, आगजनी र आक्रमण भएका थिए—प्रतिवेदनमा समेटिन नसक्नुले यसको निष्पक्षतामाथि नै शंका पैदा गरेको उनीहरूको तर्क छ ।

समग्रमा, प्रदेश सभाको यो बैठकले संघीय सरकारप्रति गहिरो अविश्वास र असन्तुष्टि झल्काएको छ । सांसदहरूले चेतावनी दिएका छन् । यदि यही शैली कायम रह्यो भने देश राजनीतिक टकरावको नयाँ चरणमा जान सक्नेछ ।

Comment


Related News

Latest News

Trending News