२०८२ चैत्र २०, शुक्रबार ०७:२५

पछिल्लो सम्पन्न निर्वाचनमा एक सीट पनि जित्न नपाएका मधेश केन्द्रित राजनीतिक दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चा विघटन गरी बृहत् पार्टी एकता गर्नेतर्फ अघि बढेका छन् ।

बबरमहलस्थित पूर्व लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा बसेको मोर्चाको बैठकमा बदलिँदो राजनीतिक परिस्थितिमा मोर्चाको माध्यमबाट अपेक्षित परिवर्तन सम्भव नदेखिएको निष्कर्षसहित एकताको विकल्पमा छलफल भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समन्वय समितिका नेता रामकुमार शर्माका अनुसार मोर्चाभित्रका साथै बाहिर रहेका दलहरूबीच एकीकृत शक्ति निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल सुरु गरिएको छ । तर प्रमुख दलका अध्यक्षहरूको अनुपस्थितिका कारण बैठकले कुनै ठोस निष्कर्ष निस्किन सकेन ।

जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न बैठकमा अन्य दलका शीर्ष नेताहरू व्यस्तताका कारण सहभागी हुन नसकेको जनाइएको छ । ठाकुरले चाँडै सबै दलका अध्यक्षहरूलाई समेटेर अर्को बैठक बोलाउने तयारी गरेको स्रोतले जनाएको छ ।

हाल संघीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी तथा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी आबद्ध छन् ।

अब यी दलहरूलाई मोर्चा बाहिर रहेका शक्तिसँग समेत जोड्दै एकीकृत राष्ट्रिय दल निर्माण गर्ने गृहकार्य अघि बढाइएको छ । नेता शर्माले पुरानो शैलीको राजनीति र नेतृत्वबाट देश अघि बढ्न नसक्ने उल्लेख गर्दै अब युवापुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राखे ।

वरिष्ठ नेताहरूलाई सम्मानजनक भूमिकामा राख्दै नयाँ सोच र ऊर्जासहितको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । उनले मधेसी, थारु, जनजाति र खस आर्य समुदायको समावेशी सहभागितामा हिमाल, पहाड र तराई–मधेशलाई जोड्ने राष्ट्रिय पार्टी निर्माणको आवश्यकता औंल्याए । साथै, समयअनुकूल नीतिगत परिमार्जन र छिमेकी राष्ट्रहरूसँग विश्वासमा आधारित मैत्री सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

Comment


Related News

Latest News

Trending News