२०८२ चैत्र २१, शनिबार ०७:२२

मोबाइल खरीद बिक्रीको विषयमा भएको विवादमा एक जनाले मोबाइल पसलका कामदारमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

शुक्रवार मोबाइल खरीद गर्ने निर्भय मिश्रा भन्ने व्यक्तिले जनकपुरधाम २ उपमहानगरपालिकाको अगाडि रहेका मोबाइल मल भन्ने मोबाइल पसलका कामदार नवीन कुसियैतमाथि खुकुरी प्रहार गरी घाइते बनाएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता गणेशबहादुर बमले दिएको जानकारी अनुसार मोबाइल खरीद गरेको विषयमा दुवै पक्षबीच विवाद भएको थियो । विवादकै क्रममा मोबाइल खरीदकर्ता मिश्राले कुसियैतमाथि चार/पांच ठाउँमा खुकुरी प्रहरी गरी घाइते बनाएको हो ।

घटना पश्चात घाइते कुसियैतलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ भने आरोपित मिश्रालाई घटना स्थलबाटै नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता बमले बताए ।

घटना बारे जानकारी दिदैं पसल सञ्चालक सदाम राईनले भने ‘ मिश्राले करीब ६ महिना अगाडि सैमसँग कम्पनीको एस २५ मोबाइल ईएमआईमा खरीद गरेका थिए । तीन महिनादेखि किस्ता नबुझाउंदा पसलका कामदार कुसियैतले ताकेता गर्दा मिश्राले गालीगलैज गरेका थिए । सो घटना पश्चात आज पसलमा आउंदा पछिल्लो कुरालाई लिएर भनाभन हुँदा मिश्राले आफ्ना स्टाफ कुसियैतलाई चक्कु प्रहार गरी घाइते बनाए ।

Comment


Related News