‘मेरो कित्ता’ जग्गा प्रणाली अब धनुषा जिल्लामा पनि कार्यान्वयनमा आएको छ । नापी कार्यालय धनुषाले जग्गासम्बन्धी सेवा प्रवाहलाई सहज र डिजिटल बनाउने उद्देश्यले सुरु गरेको अनलाइन प्रविधि लागूसँगै सेवाग्राहीले अब घरमै बसेर आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न सक्ने भएका छन् ।
नापी विभागले केही महिनाअघि देशभर लागू गरेको यस डिजिटल प्रणालीमार्फत सेवाग्राहीले नक्सा प्रिन्ट, फिल्डबुक तथा प्लट रजिस्टरसम्बन्धी सेवा अनलाइनबाटै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट हटाउँदै सेवा प्रक्रियालाई छिटो, सरल र पारदर्शी बनाउने विश्वास गरिएको छ ।
अनलाइन सेवा लिनका लागि सेवाग्राहीले नागरिकता, लालपुर्जा तथा सम्बन्धित कित्ता नम्बर, वडा नम्बर र नक्सा नम्बर जस्ता विवरण उपलब्ध गराउनुपर्ने हुन्छ । साथै, निवेदन दर्ता गर्दा मोबाइल नम्बरमार्फत ओटीपी प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ । निवेदन पेश भएपछि सम्बन्धित नापी कार्यालयले विवरण प्रमाणीकरण गर्नेछ । त्यसपछि तिर्नुपर्ने राजश्वबारे सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइनेछ ।
उक्त राजश्व अनलाइन वा बैंकमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । भुक्तानी पुष्टि भएपछि सेवाग्राहीले डिजिटल नक्सा -पीडीएफ) प्राप्त गर्नेछन्,जुन ओटीपी प्रयोग गरी डाउनलोड गर्न सकिन्छ ।
विभागका अनुसार उक्त डाउनलोड लिंक ७ दिनसम्म मात्र मान्य हुनेछ । सरकारले जग्गा प्रशासनलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने लक्ष्यअनुसार सुरु गरिएको ‘मेरो कित्ता’ प्रणालीले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ । यसबाट सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ ।



