२०८२ चैत्र २३, सोमबार १६:४०

रौतहटको चन्द्रनिगाहपुरस्थित मालपोत कार्यालय परिसरबाट एकजना कथित बिचौलिया पक्राउ परेका छन्। सरकारी सेवा लिने सर्वसाधारणलाई दुःख दिने र अनावश्यक रकम असुल गर्ने गतिविधि बढेपछि प्रहरीले निगरानी तीव्र बनाउँदै यस्तो कारबाही गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–४ मा रहेको मालपोत कार्यालयबाट कटहरिया नगरपालिका–९ का २४ वर्षीय रितेश कुमार यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। उनी सेवाग्राहीलाई छिटो काम गराइदिने आश्वासन दिँदै सरकारी प्रक्रियामा हस्तक्षेप गर्ने र अतिरिक्त रकम लिने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

सेवाग्राहीबाट पटक–पटक गुनासो आएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। सोही क्रममा यादवलाई पक्राउ गर्न सफल भएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपालाबुङले सरकारी अड्डामा बिचौलियाको सक्रियता अस्वीकार्य रहेको स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएकी छन्। उनका अनुसार पछिल्लो समय मालपोत कार्यालयजस्ता संवेदनशील निकायमा बिचौलियाको चलखेल बढ्दै गएको गुनासोका आधारमा विशेष अभियान सञ्चालन गरिएको हो।

हाल पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ भने यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत जारी रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासी र सेवाग्राहीहरूले भने यस्तो कदमले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र अनियमितता नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले सेवा प्रवाहलाई थप पारदर्शी र सहज बनाउन निरन्तर अनुगमन आवश्यक रहेको बताएका छन्।

Comment


Related News

Latest News

Trending News