कांग्रेसको हारको प्रमुख कारण अन्तरघात, अनुशासनहीन र भातृसंगठनहरु निस्क्रियताका कारण हार व्यहोर्नु परेको निष्कर्ष निकालिएको छ ।
जनकपुरधाममा बुधबार सम्पन्न नेपाली कांग्रेसको मधेश प्रदेशस्तरीय समीक्षा बैठकबाट हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका विभिन्न कारणहरू बारे समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको छ । बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टीभित्रकै अन्तरघात, अनुशासनहीन गतिविधि र सरकारमा बसेका जनप्रतिनिधिहरूले जनताको विश्वास कायम गर्न नसक्नु नै हारका मुख्य कारण भएको निष्कर्ष निकालेका छन् ।
बैठकमा मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका जिल्ला सभापति, क्षेत्रीय सभापति, उम्मेदवार तथा विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले आफ्नो धारणा राख्दै पार्टीभित्र बढ्दो गुटबन्दी र आन्तरिक द्वन्द्वले संगठनलाई कमजोर बनाएको निष्कर्ष निकालेका छन् । उनीहरूका अनुसार निर्वाचनको मुखमै सम्पन्न महाधिवेशनले पार्टीभित्र थप विभाजन सिर्जना गरेपछि कार्यकर्ताहरू विभाजित हुदाँ परिणाम आफूहरुको विरुद्ध आएको बुझाइ रहेको छ ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले भ्रातृ संगठनहरूको निस्क्रियता पनि हारको अर्को महत्वपूर्ण कारण भएको उल्लेख गरे । युवाहरूको सहभागिता अपेक्षाकृत कम हुनु, सक्रिय सदस्यता वितरणमा पारदर्शीता नहुनु तथा संगठन सुदृढीकरणभन्दा निरुत्साहित पैदा गर्ने प्रवृत्ति बढ्दै जानुले पार्टीको आधार कमजोर भएको धारणा व्यक्त गरिएको थियो । सप्तरी क्षेत्र नम्बर–४ का नेता मोहम्मद सदरुल राईनले पार्टीभित्र मौलाएको नातावाद र कृपावादले इमानदार कार्यकर्ताहरूलाई निराश बनाएको बताए ।
उनका अनुसार नेतृत्व तहले कार्यकर्ताको योगदानलाई उचित मूल्यांकन नगर्दा संगठनप्रतिको विश्वास घट्दै गएको छ । सोही क्षेत्रका उम्मेदवार तेजुलाल चौधरीले चुनावमा आफ्नै पार्टीका साथीहरूबाट अन्तरघात भएको गुनासो गरे । उनले गुटबन्दीमा आबद्ध केही व्यक्तिहरूले बाहिर साथ दिएको देखाए पनि मतदानका बेला विपक्षीलाई सहयोग गरेको आरोप लगाएका थिए ।
त्यस्तै सिरहा क्षेत्र नम्बर–२ का सभापति सुभाष चन्द्र यादवले पार्टीभित्र रहेका परम्परागत र निस्क्रिय संरचनालाई सुधार गर्दै युवाहरूलाई अगाडि ल्याउनुपर्नेमा जोड दिए । उनका अनुसार पुराना सदस्यहरूको सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिन सके मात्र संगठन बलियो बन्न सक्छ । सोही क्षेत्रका उम्मेदवार रामचन्द्र यादवले केन्द्रीय नेतृत्वले युवाहरूलाई प्राथमिकतामा नराखेको तथा सरकारमा पुगेका प्रतिनिधिहरूले आफ्नो क्षेत्रमै सीमित रहेर काम गर्दा व्यापक जनसमुदायमा असन्तुष्टि बढेको बताए ।
पर्सा जिल्लाका सभापति सुरेन्द्र चौधरीले आधुनिक प्रविधिको प्रयोगमा कमी हुनु पनि पराजयको एक कारण भएको बताए । उनले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत पार्टीका उपलब्धि जनतासम्म पु¥याउन नसकिएको गुनासो गरे । अर्का उम्मेदवार अजय चौरसियाले भने निर्वाचन प्रक्रियामा प्रशासनिक हस्तक्षेप भएको आशंका व्यक्त गर्दै त्यसले पनि परिणामलाई प्रभावित पारेको दाबी गरे । त्यस्तै रौतहट १ का उम्मेदवार पछिल्लो निर्वाचनमा उम्मेदवारहरुको हारको प्रमुख कारण क्षेत्रीय, जिल्ला र प्रदेश पदाधिकारी तथा नेताहरु सक्रिय नहुनु रहेको कमी औल्याएका थिए ।
यस्तै बारा २ का उम्मेदवार भैयाराम यादवले पार्टीको परिवर्तन सहितको नयाँ नेतृत्वले गर्दाले नै अहिले आएको सिट हो । पुराना नेतृत्वकर्ताहरु भएको भए पार्टी जिरो अवस्थामा पुग्ने थिए । तर परिवर्तन सहितका नारा हामी जनतामा पुरयाउन नसकेको महसुश गरेको बताए । सो कार्यक्रममा प्रदेशका ८ वटै जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रिय सभापति, प्रदेश तथा केन्द्रका पदाधिकारीहरुले भविष्यका लागि विभिन्न सुझावहरू पनि प्रस्तुत गरेका छन् ।
सबैले भातृ संगठनलाई सक्रिय बनाउनुपर्ने, क्रियाशील सदस्यतालाई शुद्धिकरण गर्नुपर्ने र पार्टीभित्र जेनजी उमेरका युवाहरुलाई बढीभन्दा बढी सहभागिता गराउनुपर्ने र स्थानीय तथा प्रदेश सरकारमा रहेकाहरुलाई आफ्ना क्षेत्र मात्र होइन समग्रतालाई ध्यानमा दिएर काम गर्न कडा निर्देशन दिनुपर्नेमा जोड दिए । यसका साथै स्थानीय र प्रदेश सरकारमा रहेका जनप्रतिनिधिहरूलाई आफ्नो क्षेत्र मात्र नभइ समग्र प्रदेशको विकासमा ध्यान दिन निर्देशन आवश्यक रहेको धारणा राखिएको थियो ।
समग्रमा, समीक्षा बैठकले पार्टीभित्र देखिएका कमजोरीहरूलाई सच्याउँदै आगामी निर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुन संगठनलाई एकताबद्ध बनाउने आवश्यकता औंल्याएको छ । नेताहरूले यसलाई एउटा महत्वपूर्ण पाठका रूपमा लिँदै भविष्यका रणनीति तयार गर्नुपर्नेमा सहमति जनाएका छन् । पार्टी सभापति गगन कुमार थापाले पुराना सबै क्रियाशील सदस्यता खारेज भइसकेको जानकारी गराउँदै वैशाख १ गतेदेखि नयाँ प्रणाली अनुसार क्रियाशील सदस्यता बनाउने अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे ।
अध्यक्ष थापाले भने वैशाख १ गतेदेखि एक महिनासम्म नेपाली कांग्रेसले देशभर ‘जरा अभियान’ सञ्चालन गरी क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण शुरु हुने छ । जसको सुरुवात म आफूबाटै आफ्नो वडामार्फत गर्नेछु । यो अभियानमार्फत वडा तहसम्मै संगठन सुदृढीकरण, सदस्यता अद्यावधिक, र वैज्ञानिक प्रणालीको सुरुवात गरिनेछ, जसमा युवाहरूको व्यापक सहभागिता र विशेष मापदण्डका आधारमा सदस्यता प्रदान गरिनेछ ।
उनले पार्टीका अधिकांश भातृ संगठन युवाहरुको संगठन हो । तर ती संगठनमा पुराना नेताहरु नै वर्षौदेखि कब्जा जमाएर बसेका कारण निस्क्रिय हुन गएकाले अब ती पद्धतिमा परिमार्जन गरी नयाँलाई अवसर दिने गरी सक्रिय बनाइने प्रतिबद्धता जनाए ।



