२०८२ चैत्र २७, शुक्रबार ०७:४०

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरीको एकडारा गाउँपालिका–५ बथनाहाका २० वर्षीय अजय कापर आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा मृत्युसंग संघर्ष गरिरहेका छन् । एसईई परीक्षा दिएर घर फर्कने क्रममा तीन दिनअघि भएको दुर्घटनापछि उनी अचेत अवस्थामा प्रादेशिक अस्पताल जनकपुरधामको सघन उपचार कक्ष (आईसीयू) मा राखिएका छन् ।

चिकित्सकहरूले उनको अवस्था जटिल रहेको बताउँदै थप उपचारका लागि बाहिर रेफर गरिसकेको दुई दिन बितिसक्दा पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनलाई अन्य अस्पताल लैजान सकिएको छैन । अजयका ६८ वर्षिय बुवा रामवरण कापर, जो दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका छन्, उपचार खर्च जुटाउन नसक्दा असहाय बनेका छन् । उनका अनुसार चिकित्सकले दुर्घटनाको भोलिपल्ट नै बाहिर लैजान सुझाव दिएका थिए, तर आर्थिक स्रोत अभावले त्यो सम्भव हुन सकेको छैन ।

मंगलबार बिहान साढे ११ बजेको समयमा परीक्षा दिएर घर फर्कने क्रममा दुर्घटनामा परेका कापरको तीन बितिसक्दा पनि अझै आँखा खुलेको छैन् । दैनिक ज्याला मजदूरी गर्दै आएका कापरले भकानिदै भने, ‘डाक्टरले दुर्घटना भएको भोली पल्ट बिहान नै यहाँ उपचार सम्भव नरहेका यहाँबाट बाहिर लग्नु भनेर रेफर गरिदियो । तर मसँग पैसा छैन्, कि छोरालाई अन्य ठाउँमा बाहिर लगेर उपचार गराऔं । दुई दिनदेखि पैसा नै खोजिरहेछु । आज पैसा आभावमा छोरा मृत्युसँग अस्पतालमै जुध्दैछन् गरीबलाई हेर्ने कोही छैन ।’ दुर्घटनापछि मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानीशर्मा तिवारीले दुर्घटनामा घाइते भएकाहरुको परिवारसँग अस्पतालमा गएर भेट्दै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भनेर प्रतिबद्धता जनाएकी थिइन । घाइते हुने मन्त्री तिवारीकै निर्वाचन क्षेत्रका युवकहरु छन् ।

मन्त्री तिवारीले प्रतिबद्धता जनाएपनि पैसा नहुँदा उपचार आभावले अजय अहिलेसम्म अचेत अवस्थामै अस्पतालमा छन् । अजयको नातामा दाई पर्ने राजकुमार कापर भन्छन ‘घरपरिवार चलाउन बुवासँग अजयले समेत दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएका थिए ।’ अजय पनि पढाइसँगै मजदुरी गर्दै घरखर्चमा सहयोग गर्थे। उनका बुवाले पहिले घोडागाडी चलाएर परिवार धानेका थिए, तर समयसँगै त्यो पेशा घटेपछि मजदुरीमा निर्भर हुनुपरेको थियो । अहिले परिवार आर्थिक संकटमा परेको छ । प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन प्रसाद सिंहले भने ‘गम्भीर अवस्थामा प्रादेशिक अस्पतालमा ल्याइएका अजयलाई न्युरो सर्जन डा. प्रधुम्न कुमार यादवले उपचार गर्दा केही सुधार आयो । तर उनलाई न्युरो सर्जनको टिमको आवश्यकता भएकाले यहाँ त्यो उपलब्ध नरहेकाले थप उपचारको लागि यहाँबाट अन्य ठाउँमा रेफर गरिएको छ । तर पैसा आभावले लगेको छैन ।’ उपचारमा खटेका डा. प्रद्युम्न कुमार यादव भन्छन् ‘बिरामीको अवस्था गम्भीर छ । अहिले भेन्टिलेटरमा केही उपचार गरिदैछ । तर त्यो पर्याप्त छैन । अजयलाई सिभियर इन्जरी नन सर्जिकल अर्थात टाउकोमा रगत दुई वटा सेन्टरमा जमेको कारण यहाँ उपचार सम्भव छैन, न्यूरो सर्जन टीम नै चाहिन्छ ।’

बितेको मंगलबार एकडारा गाउँपालिका ५ स्थित जलेश्वर सम्सी हुलाकी सडक खण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनापश्चात गाडीमा आगो लागेपछि तीनजनाको घटना स्थलमै जलेर मृत्यु भएको थियो । दुर्घटनामा परेर जलेश्वर नगरपालिका ६ बस्ने रामदयाल दासको २० वर्षीय छोरा रबि दास, सुरेन्द्र दासको छोरा २० वर्षीय सुभाष दास र एकडारा ३ बस्ने शत्रुधन मण्डलको छोरा अभिषेक मण्डलको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा अजयसँगै जलेश्वर ६ धबौली बस्ने सुरेश दासको छोरा रोहित दास र लखिन्द्र कापरको छोरा अभय कापर पनि गम्भीर घाइते भएको थियो । अजयलाई पैसा नहुँदा प्रादेशिक अस्पतालमा उपचारका लागि लगियो भने रोहित र अभयलाई जनकपुरधामकै रामजानकी अस्पताल ल्याइयो । रोहित र अभयको पनि पारिवारिक अवस्था कमजोर नै छ । उनीहरुको पनि पैसा आभावमा उपचार भइरहेको छैन । तिनका परिवाहरुले पनि सहयोगका लागि अपिल गरेका छन् ।

Comment


Related News