मंगलबारदेखि नयाँ वर्ष २०८३ मा प्रवेश मुलुक प्रवेश गरेको छ । यससंगै मधेश प्रदेशमा सम्पन्न भएको वि.सं. २०८२ मा अनेकौँ राजनीतिक उथलपुथल भएको छ ।
विभिन्न राजनीतिक, सामाजिक, आर्थिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण घटनाहरूले भरिएको वर्षका रूपमा रहेको देखिन्छ । यस वर्षमा प्रदेशको सत्ता राजनीतिदेखि ध्रुवीकरणसम्म, समग्र विकास, स्थायित्व र जनजीवनसंग सम्बन्धित थुप्रै विषयहरू चर्चामा रहेको पाइएको छ । सबैभन्दा पहिले राजनीतिक क्षेत्रमा उल्लेखनीय गतिविधिहरू भएको छ ।
प्रदेश सरकारमा नेतृत्व परिवर्तन, मन्त्रिपरिषद् पुनर्गठन र दलहरूबीचको शक्ति संघर्षले दलीय रुपमा तीव्र गतिमा धु्रवीकरण भएको वर्षको रुपमा नै चर्चा भयो । सत्ता समीकरणमा पटक–पटक भएको फेरबदलले शासन व्यवस्थामा अस्थिरता देखियो । जसको प्रभाव विकास योजनाहरूको कार्यान्वयनमा पनि परेको थियो ।
यसका साथै स्थानीय तहहरूसंगको समन्वय र सहकार्य अभावका कारण कतिपय कार्यक्रमहरू अपेक्षित रूपमा अघि बढ्नै सकेन । ०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पहिलो पटक मधेश केन्द्रित दलहरू विलयको अवस्थामा पुगेको छ भने मधेशमा संगठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल वर्चश्व कायम भएको छ ।
मधेश प्रदेशको ३२ सिटमध्ये ३० सिटमा एक्लौटी रुपमा रास्वपाले जितेको छ । मधेश प्रदेशमा जेन– जी आन्दोलनको क्रममा जनमत पार्टीबाट रहेका तत्कालीन मुख्यमन्त्री सतीश कुमार सिंह नेतृत्वको सरकार ढल्यो भने नेकपा एमालेका सरोजकुमार यादवको नेतृत्वमा करिब २५ दिनसम्म प्रदेश सरकार रह्यो । तर यादव नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिन नसक्दा स्वतः एमाले सरकार ढल्यो र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनलको नेतृत्वमा प्रदेश सरकार बन्यो ।
तर तत्कालीन नेकपा माओवादी केन्द्रमा देखिएको आन्तरिक किचलोको शिकार सोनल भएसंगै सत्ता पनि ढल्यो । त्यसपछि नेपाली कांग्रेसका कृष्ण प्रसाद यादव नेतृत्वको सरकार बन्यो । जुन अहिलेसम्म निरन्तरता पाएको छ । यससंगै रामचन्द्र मण्डलमाथि विभिन्न प्रश्न उठाउँदै उनलाई सभामुख पदबाट हटायो भने सो पदमा राम अशिष यादवलाई विराजमान गरियो । भने अर्कोतर्फ प्रदेश प्रमुखमा पनि डा. सुरेन्द्र लाल कर्णलाई नियुक्ति गरियो । त्यस्तै मधेशमा संगठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल वर्चश्व कायम भएको छ ।
मधेश प्रदेशको ३२ सिटमध्ये ३० सिटमा एक्लौटी रुपमा रास्वपाले जितेको छ । यससंगै मुलुकको प्रधानमन्त्री मधेशी मूलका बालेन्द्र साह छन् । त्यस्तै सामाजिक क्षेत्रमा नागरिकता, शिक्षा र स्वास्थ्यसंग सम्बन्धित मुद्दाहरू प्रमुख बन्यो । विशेषगरी नागरिकता समस्या मधेशका बासिन्दाका लागि झनै संवेदनशील विषयका रूपमा देखा परेको छ । अधिकांश युवा नागरिकता अभावकै कारण उच्च शिक्षा, रोजगारी र वैदेशिक अवसरबाट वञ्चित भएको गुनासो गर्दै सडक आन्दोलनमा उत्रिनु परेको थियो ।
शिक्षा क्षेत्रमा विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, शिक्षक अभाव तथा गुणस्तरीय शिक्षाको प्रश्न उठिरह्यो भने स्वास्थ्य क्षेत्रमा अस्पतालहरूको सेवा विस्तार भए पनि गुणस्तरमा अझै चुनौती देखियो । त्यस्तै आर्थिक क्षेत्रमा कृषि नै मुख्य आधार बनेको मधेशमा मल, बीउ तथा सिचाइँको समस्या वर्षभरि नै देखियो ।
किसानहरूले समयमा मल नपाएको गुनासो गरेका थिए । जसका कारण उत्पादनमा असर परेको थियो । तर केही स्थानमा आधुनिक कृषि प्रविधिको प्रयोग र सहकारीमार्फत गरिएको पहलले सकारात्मक संकेत पनि देखायो। साना तथा मझौला उद्योगहरूको विकासमा अपेक्षाकृत प्रगति कम भए पनि व्यापारिक गतिविधि भने सीमा नाकाहरूका कारण सक्रिय नै रह्यो । य
स वर्षको अन्त्यसंगै महँगी, पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि, सवारीसाधनको भाडावृद्धिलगायतका दैनिक उपभोग्यजन्य सामग्रीले सर्वसाधारणको ढाड सेक्न कुनै पनि कसर नछाडेको टिप्पणी स्थानीय युवा मनोज साहले गरे । त्यसैगरी पूर्वाधार विकासका क्षेत्रमा सडक, पुल तथा सिचाइँ आयोजनाहरू सञ्चालनमा रह्यो । केही ठूला सडक आयोजना सम्पन्न भए पनि अधिकांश आयोजना ढिलाइका कारण आलोचनाको विषय बन्यो ।
वर्षायाममा बाढी र डुबानको समस्या फेरि पनि दोहोरियो, जसले सडक तथा बस्तीहरूमा क्षति पु¥यायो। यसले दीर्घकालीन समाधानका लागि प्रभावकारी योजना आवश्यक रहेको देखियो ।
त्यस्तै प्राकृतिक विपद् मधेश प्रदेशका लागि वि.सं. २०८२ मा पनि प्रमुख चुनौती बन्यो । वर्षायाममा आएको बाढी, डुबान र नदी कटानका कारण हजारौं परिवार प्रभावित भए। कृषि जमिन डुबानमा प¥यो र जनधनको क्षति भयो । सरकार तथा विभिन्न संघसंस्थाहरूले राहत तथा पुनस्र्थापनाका काम गरे पनि दीर्घकालीन व्यवस्थापन अझै अपर्याप्त देखियो ।
त्यस्तै सांस्कृतिक तथा सामाजिक सद्भावका दृष्टिले भने मधेश प्रदेशमा विभिन्न पर्वहरू धूमधामका साथ मनायो । मिथिला संस्कृति, भाषा र परम्परालाई संरक्षण गर्ने प्रयासहरू पनि भयो । विभिन्न सांस्कृतिक कार्यक्रम, महोत्सव तथा मेलाहरूले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याएका थिए ।
२०८२ साल मधेश प्रदेशका लागि चुनौती र सम्भावनाहरू दुबै लिएर आएको वर्ष रह्यो । राजनीतिक अस्थिरता, सामाजिक समस्या र प्राकृतिक विपद् का बाबजुद पनि विकासका केही प्रयासहरू अघि बढेका देखिन्छन् ।
आगामी दिनहरूमा स्थिर शासन, प्रभावकारी नीति कार्यान्वयन र जनसहभागिता बढाउन सके मधेशको समग्र विकास अझ तीव्र रूपमा अघि बढ्न सक्ने आशा गर्न सकिन्छ ।



