२०८३ बैशाख २, बुधबार ०६:३९

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जनकपुरधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्नमा सञ्चार क्षेत्रको महत्वपूर्ण रहेकाले सहयोग गर्न सँग आग्रह गरेको छ ।

मधेश भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतोले जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वसामु चिनाउन सञ्चारमाध्यमले जिम्मेवार, तथ्यपरक र सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले जनकपुरधामको पहिचानलाई सही ढंगले प्रस्तुत गर्न सके यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे ।

उनका अनुसार मिथिलाको प्राचीन राजधानीका रूपमा परिचित जनकपुरधाममा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचारप्रसार हुन सके आन्तरिक तथा बाह्य पर्यटनमा उल्लेखनीय वृद्धि हुने सम्भावना प्रबल रहेको छ । उनले सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्न र सकारात्मक सन्देश सम्प्रेषण गर्न आग्रह गर्दै यसले जनकपुरधामको अन्तर्राष्ट्रिय छवि निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

मन्त्री महतोले जनकपुरधामलाई केवल धार्मिक आस्थाको केन्द्रका रूपमा मात्र सीमित नराखी नेपालको सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीकका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार जनकपुरधामको ऐतिहासिकता, परम्परा र सांस्कृतिक धरोहरलाई समेटेर व्यापक रूपमा प्रचार गर्न सके यसले विश्वभरका पर्यटकलाई आकर्षित गर्न सक्छ ।

कार्यक्रममा उनले वर्तमान राजनीतिक अवस्थाप्रति पनि धारणा राख्दै राजनीतिक दलहरूलाई केवल सत्ता प्राप्तिको माध्यमका रूपमा हेर्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनका अनुसार राजनीतिक दलहरू पेशा नभई जनताको सेवा गर्ने पवित्र संस्था हुन् । राजनीति व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम नभई जनहितका लागि समर्पित हुनुपर्नेमा उनले जोड दिए । उनले नेताहरू तथा कार्यकर्ताहरूलाई व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्र र समाजको समग्र हितमा समर्पित हुन आग्रह गरे ।

जनताको अपेक्षाअनुसार सेवा दिनु नै राजनीतिक नेतृत्वको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले जिम्मेवार र पारदर्शी शासन प्रणालीमार्फत जनविश्वास कायम गर्नुपर्ने बताए । मन्त्री महतोले प्रदेश सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढिरहेको जानकारी दिँदै विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा विभिन्न प्रयासहरू भइरहेको उल्लेख गरे । उनले जनताको आवश्यकता र अपेक्षाअनुसार कार्यक्रमहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

जनकपुरधामको धार्मिक पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले विभिन्न योजनाहरू अघि बढाएको उनले जानकारी दिए । ती योजनामा भौतिक पूर्वाधारको विकास, धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, सरसफाइ व्यवस्थापन, यातायात सेवाको सुधार तथा सुरक्षा व्यवस्थाको सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ। उनले यस्ता योजनाहरूको प्रभावकारी कार्यान्वयनबाट जनकपुरधामलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए ।

मन्त्री महतोले जनकपुरधामको समग्र विकासका लागि स्थानीय तह, निजी क्षेत्र र सञ्चारमाध्यमबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे। विकासका लागि साझा दृष्टिकोण र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले सबै पक्षबीच सहकार्य भए मात्र दिगो र परिणाममुखी विकास सम्भव हुने बताए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पनि जनकपुरधामको विकासका लागि राज्यले ल्याएका नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले सञ्चार क्षेत्रले विकासका एजेन्डालाई प्राथमिकतामा राखेर सकारात्मक बहस र सहकार्यलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए । अन्त्यमा मन्त्री महतोले सबै सरोकारवालालाई साझा लक्ष्यका साथ अघि बढ्न आह्वान गर्दै जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रदेश सरकारको प्रतिबद्धता दोहोर्याएका थिए ।

Comment


Related News

Latest News

Trending News