नेपाल पुलिस क्लबलाई हराउँदै मधेश प्रदेश जय ट्रफी एलिट कप क्रिकेटका लागि छनोट भएको छ । योसँगै प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे शीर्ष ६ मा रहेर जय ट्रफी खेल्ने ६ वटै टोलीको टुङ्गो लागेको छ ।
त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले जय ट्रफी खेल्ने भएका हुन् ।
प्रधानमन्त्री कपमा आज लिग चरणको अन्तिम खेलमा मधेशले पुलिसलाई ४ विकेटले हरायो । पुलिसले दिएको १३१ रनको लक्ष्य मधेशले २४ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । मधेशका अरनिको यादवले नटआउट ६५ रन बनाए । पुलिसका गुल्सन झाले ३ विकेट लिए ।
यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङ गरेको पुलिसले ४० ओभर ३ बलमा १३० रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका कुशल भुर्तेलले ३९ रन बनाए । मधेशका पवन सर्राफ, रञ्जीत कुमार र आशिक बैठाले ३/३ विकेट लिए ।
यस्तै जनकपुरमा भएको खेलमा आर्मीले लुम्बिनीलाई १ विकेटले हरायो । लुम्बिनीले दिएको १३९ रनको लक्ष्य आर्मीले २५ ओभर २ बलमा ९ विकेट गुमाएर भेटायो । आर्मीका कुशल मल्लले ४१ रन बनाए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए ।
यसअघि जनकपुरमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३९ ओभर २ बलमा १३८ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका रञ्जीत खड्काले २८ रन बनाए । आर्मीका कुशल मल्लले ४ विकेट लिए ।
१० वटा टोली सहभागी प्रधानमन्त्री कपको उपाधिका लागि आउँदो शुक्रवार शीर्ष २ टोली आर्मी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिम पहिलो पटक फाइनलमा पुगेको हो ।
प्रतियोगितामा गण्डकी प्रदेश सातौँ, बागमती प्रदेश आठौँ, कर्णाली प्रदेश नवौँ र कोशी प्रदेश १०औँ स्थानमा रहे ।



