सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको पार्टीलाई नै वैधानिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले शुरुमा अदालतको फैसला स्वीकार्ने जनाएको थियो । तर त्यसको भोलीपल्ट अदालतमा पुनरावलोकनमा जाने र पार्टी विभाजनसम्मको चेतावनी दिएपछि देउवा समूह अलमलमा नै रहेको टिप्पणी भइरहेको छ ।
नेपाली कांग्रेसको देउवा समूहले १५ औँ महाधिवेशनको मिति समायोजन नभए पार्टी विभाजनतर्फ जानेसमेत चेतावनी दिएको छ । एक दिन अघि देउवा समूहको बैठकबाट एकतावद्ध भएर अघि बढ्ने निर्णय पनि गरेको थियो । तर आइतबारको बैठकले एकताको सम्पूर्ण जिम्मेवारी सभापति थापाको रहेको निष्कर्ष निकाल्दै आफूहरुको एकता हुनु पर्ने जिकिर गर्दै पार्टी विभाजनसम्मको चेतावनी देउवा समूहले दिएको छ ।
त्यसका लागि निवर्तमान केन्द्रीय सदस्य, निवर्तमान पदाधिकारी र अन्य समितिमा रहेकाहरूसंग छलफल गर्ने निर्णय भएको नेता मीन विश्वकर्माले जानकारी दिए । एकताका लागि महाधिवेशनको मिति समायोजन हुनैपर्ने अडान देउवा समूहले लिएको छ ।
दुई महाधिवेशनको अवस्था आउन नदिन पार्टीमा छलफलको पहल सभापति थापाले लिनुपर्ने उनले बताए । त्यस्तै सर्वोच्च अदालतको फैसलाबारे पुनरावलोकनमा जाने पक्षमा आफूहरूको रहेको उनले बताए ।
यता देउवा समूहले अदालतको फैसलापछि पनि जिल्लादेखि केन्द्रसम्म समानान्तर गतिविधि गर्ने तयारी गरेको छ । एकताका लागि पहल गर्न कांग्रेस संस्थापन समूहलाई आग्रह गरे पनि सो समूहले वैकल्पिक योजनाका रुपमा आफ्नो बेग्लै तयारी गरेको छ । अब यथासिघ्र निवर्तमान पदाधिकारी र सदस्यको वृहद बैठक बसेर चरणबद्ध कार्यक्रम बनाउने सो समूहका नेता मिनबहादुर विश्वकर्माले बताए । उनले भने, ‘हामी चरणवद्धरुपमा प्रदेशस्तरको, जिल्लास्तरको बैठक बसेर बृहद् राष्ट्रिय भेला आयोजना गर्नेछौँ । हामीलाई अदालतको फैसला चित्त बुझेको छैन ।’ अर्को समूहले पहल गरे मात्र एकताको वातावरण बन्ने विश्वकर्माको भनाइ छ । अन्यथा पार्टी विभाजनतर्फ जानसक्ने उनले चेतावनी दिए । देउवा समूहले अदालतले पार्टीको आधिकारिकतबारे गरेको फैसला त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
आइतबार बसेको सो समूहको बैठकले सर्वोच्चले विरोधाभासपूर्ण र आफ्नै विगतको नजिरविपरित फैसला गरेको ठहर गरेको छ । उक्त बैठकपछि बोल्दै देउवा समूहका नेता विश्वकर्माले फैसलालाई तत्काल स्वीकार गरे पनि यसको पुनरावलोकनमा जानुपर्ने राय नेताहरुबाट आएको उनले बताए ।
यता कांग्रेसको संसदीय दलको चयनका लागि निर्वाचन कार्यतालिका सर्वजनिक गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार दलको नेता चयनका लागि निर्वाचन हुने कार्यक्रम तय भएको जानकारी दिएको छ । कांग्रेसले दलको नेताको निर्वाचनमा सहभागी हुन उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाण्डु आइपुग्न मोबाइलमा एसएमएस पठाएको छ । सांसद गीता गुरुङले काठमाण्डु उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान पनि एसएमएसमा आग्रह गरिएको छ । उनले भनिन्, ‘नेका संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाण्डु उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुन भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ,’ सूचनामा उल्लेख गरिएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३८ सिटमा खुम्चिएको कांग्रेसले अहिलेसम्म दलको नेता चयन गर्न सकेको छैन ।



