नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष करोडौको घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्न र व्यवस्थापनमा सुधारको आवश्यकता रहेको देखिन्छ ।
कम्पनीका तत्कालीन महाप्रबन्धक निरञ्जन झाका अनुसार अहिले मासिक आम्दानी करिब रु ७५ लाख भए पनि खर्च रु एक करोड २९ लाख पुग्ने गरेको छ । आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिइ सञ्चालन हुँदै आएको छ । उनले भने ‘विसं २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण रु ७९ करोड नाघिसक्दा कम्पनीमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ’, उनले भने, ‘यात्री सेवाका हिसाबले भने रेल प्रभावकारी मानिएको छ ।’
कम्पनीका तत्कालीन महाप्रबन्धक निरञ्जन झाका अनुसार कम्पनीको व्यावसायिक कार्ययोजना, २०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म रु १९ करोड २१ लाख आम्दानी हुँदा रु ६७ करोड ३७ लाख खर्च भएको उल्लेख छ । पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र रु आठ करोड ५० लाख आम्दानी हुँदा रु २६ करोड २७ लाख खर्च भएको छ ।
पूर्वमहाप्रबन्धक झाका अनुसार भारतको जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको रेल सेवा दैनिक तीन पटक सञ्चालन हुँदै आएको छ । घाटाको प्रमुख कारणमध्ये भारतीय प्राविधिक कर्मचारीमा हुने उच्च खर्च मुख्य मानिएको उनको भनाइ छ । हाल यहाँ १७ जना भारतीय कर्मचारी कार्यरत रहेका जनाउँदै पूर्वमहाप्रबन्धक झाले त्यसका लागि कम्पनीले भारतीय कोंकन कम्पनीलाई मासिक करिब रु एक करोड १२ लाख भुक्तानी गर्दै आएको बताए । उनका अनुसार नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब रु १७ लाख छ । लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहेकाले व्यवस्थापनमा झन समस्या बढेको नेपाल रेल्वे कम्पनी लिमिटेडका कर्मचारीहरू बताउँछन् ।
लिमिटेडका अनुसार पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार कम्पनीको आम्दानीभन्दा खर्च करिब तेब्बरभन्दा बढी रहेको देखाउछ । सोही कारण रेल्वे सेवा दीर्घकालीन रूपमा आर्थिक संकटतर्फ गइरहेको रेलवे सरोकारवालाहरुको भनाई छ । स्थायी प्राविधिक जनशक्तिको अभाव, वर्कसपको कमी, स्वदेशी चालक तथा स्टेसन मास्टरको अभाव, फ्युलिङ स्टेसन नहुनु र इन्धनसमेत भारतबाट ल्याउनुपर्ने अवस्थाले सञ्चालन खर्च अझ बढाएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
साथै कम्पनी लामो समयदेखि महाप्रबन्धकविहीन रहेको हुँदा व्यवस्थापन कमजोर बनेको छ । विसं १९९४ मा सुरु भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो । विसं २०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको रेल हाल ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ । कम्पनीले रेल्वेको आम्दानी बढाउन तथा आत्मनिर्भर बन्न विभिन्न विकल्प अघि सारेको छ ।
रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब रु आठ करोड आम्दानी हुने अनुमान गरिएको छ । साथै पुरानो न्यारो गेज रहँदाको कोइला इन्जिन सहितका चीजहरुलाई रेल म्युजियम स्थापना गरी पर्यटनमार्फत आय बढाउने योजना पनि अघि सारेको छ । स्थानीय व्यापारीहरूले यात्रु सेवासँगै मालसामान ढुवानी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीयका अनुसार यात्रु मात्र बोक्ने सेवाबाट नाफा सम्भव छैन । तत्कालीन महाप्रबन्धक झाले नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा शीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । उनले आफ्नो कार्यकालमा रेल्वेमा वोगी थपेर वा नयाँ रेल थपेर कार्गो सेवा सञ्चालन गर्नुपर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिए ।
भारतको कलकत्ता बन्दरगाहबाट सस्तो दरमा नेपालमा मालसमान ढुवानी गर्ने कार्गो रेल्वे सेवा सञ्चालनका लागि पहिलेदेखि जनकपुरधाम क्षेत्रका व्यवसायीले माग गर्दै आए पनि हालसम्म सञ्चालन हुन सकेको छैन । जनकपुरका व्यवसायीका अनुसार कार्गो सेवा सञ्चालन भएमा मालसमान ढुवानीका लागि सहज हुनुका साथै सस्तो पनि हुने थियो ।
समयमा व्यवस्थापन सुधार, स्वदेशी दक्ष जनशक्ति उत्पादन, मालवाहक सेवा विस्तार र ऋण व्यवस्थापन गर्न सके रेल सेवा नाफामुखी बन्न सक्ने जानकारहरू बताउँछन् । बढ्दो ऋणले नेपालको एकमात्र रेल सेवा थप संकटमा पर्ने निश्चितजस्तै देखिएको धनुषाका ६० वर्षीय रामकुमार झाले बताए । रेलले दैनिक जीवन सहज बनाएकाले यसको थप विस्तार र उचित व्यवस्थापन हुनुपर्नेमा उनले जोड दिए ।



