मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी नरहेको भन्दै तत्काल नयाँ दरबन्दी सिर्जना गर्न संघ सरकारसँग माग गरेकी छन् ।
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको ११७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिवारीले मधेशको शैक्षिक अवस्था सुधारको प्रमुख बाधक शिक्षक आभाव रहेको भनिन् । उनले मधेशका अधिकांश विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भएपनि त्यसअनुसार शिक्षक व्यवस्थापन हुन नसकेको बताउँदै वर्तमान संरचना अव्यवहारिक रहेको भनिन् ।
उनले भनिन् ‘हाम्रो बुझाइमा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्छ । तर, मधेशमा औसतमा ११७ विद्यार्थीका लागि १ शिक्षक मात्र उपलब्ध छन्, यस्तो अव्यवहारिक संरचनाले गुणस्तरीय शिक्षाको अपेक्षा त के कल्पना पनि गर्न सकिदैन ।’ मन्त्री तिवारीले संघ सरकारले हालै अघि सारेको १०० बुँदे कार्यक्रमलाई कार्यान्वयन गर्दा शिक्षा सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । उनले शिक्षक अभाव समाधानका लागि या त संघ सरकारले आवश्यक दरबन्दी थप गर्नुपर्ने वा प्रदेश सरकारलाई नै दरबन्दी सिर्जना गर्ने अधिकार हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
विद्यालयका प्रधानाध्यापक संजय झाले ११७ वर्ष पुरानो इतिहास बोकेको विद्यालयले विभिन्न उतारचढाव पार गर्दै अहिले पुनः शैक्षिक केन्द्रका रूपमा स्थापित हुन सफल भएको बताए । उनले पछिल्लो समय समुदाय र अभिभावकको सक्रिय सहयोगका कारण विद्यालयमा विद्यार्थी संख्या उल्लेखनीय रूपमा बढेको बताए ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले ११ जना उत्कृष्ट छात्रालाई साइकल वितरण गरेको छ । साथै, कक्षा १२ विज्ञान संकायमा अध्ययनरत ९ जना छात्रालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ । शिशु कक्षादेखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो ।



